• ६ वैशाख २०८१, बिहिबार

दर्शकहरूको रोजाइ बन्दै ‘थ्रिडी आर्ट म्युजियम’ (फोटो फिचर)

blog

वान डे थ्रिडी आर्ट म्युजियममा रमाउँदै दर्शकहरू । तस्बिर : केशब गुरुङ

ललितपुर, साउन १२  गते । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित इमाडोल वचु हाइटमा अवस्थित ‘वान डे थ्रिडी आर्ट म्युजियम’ दर्शकहरूको रोजाइ बन्दै गएको छ । थ्रिडी चित्रकलालाई व्यवसायिक रुपमा अगाडि बढाउने उद्देश्यले आठ जनाको सक्रियतामा सुरू गरिएको म्युजियममा दुई सयभन्दा बढी विभिन्न आकृतिका चित्रहरू कोरिएका छन् ।


विदेशका विभिन्न ठाउँमा देख्न पाइने थ्रिडी चित्रकला अहिले नेपालमै पनि अवलोकन गर्न सकिने गरी उहाँहरुले म्युजियम निर्माण गर्नुभएको हो ।

चार रोपनी क्षेत्रफलमा फैलिएको म्युजियममा अवस्थित साढे २ तलाको भवनको भित्री भागमा पूरै थ्रिडी चित्रकला कोरिएका छन् ।

भवनको भित्रको भुइँ, भित्ता, भर्‍याङलगायत कुनै स्थान खाली नराखी थ्रिडी चित्रकला कोरिएका छन् । २०७६ सालमा निर्माण गरिएको म्युजियम उद्घाटन गरिएको केही समयमै विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाले लामो समय बन्द गर्नुपरेको थियो ।

लकडाउन खुलेपछि २०७८ असोजदेखि म्युजियम नियमित रूपमा सञ्चालनमा आइरहेको छ ।


म्युजियममा १४ जना नेपाली चित्रकारले ८ महिना लगाएर थ्रीडी  चित्र कोरेका सञ्चालकका सदस्य नरेश बुढाथोकीले बताउनुभयो । कतिपय कलाकारले विदेशमा गएर प्रशिक्षण लिएर चित्र कोरेका हुन् बुढाथोकी बताउनुहुन्छ । ती चित्रको अगाडि उभिएर फोटो वा भिडियो खिच्दा वास्तविक स्थानमै पुगेको अनुभूति गराउने गरी चित्र कोरिएका छन् ।  म्युजियममा कोरिएका चित्रहरूमा साझा बस, नेपाल एयरलाइन्सको विमान, समुद्र, डुङ्गा चढेर लुम्बिनी पुगिने कला, धान रोपाइँका क्रममा गोरु जोतेको अनुभूति, बालबालिकाहरूका लागि मनोरञ्जन दिने छुट्टै थ्रिडी आर्ट, ध्यान गर्ने स्थानलगायतका चित्रहरू छन् ।


म्युजियमभित्र घुम्न एकजना दर्शकलाई औसत ३ देखि ४ घण्टाको समय लाग्नेछ । म्युजियम घुम्नका लागि वयस्कका लागि ४ सय रुपियाँ, १० कक्षासम्मका विद्यार्थीका लागि ३ सय रुपियाँ, अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिक, पत्रकारलगायत निश्चित क्षेत्रका व्यक्तिका लागि भने केही छुटको व्यवस्था गरिएको सञ्चालक बताउनुहुन्छ।


म्युजियमको पहिलो शाखा मकवानपुरको हेटौँडामा र दोस्रो साखा  भक्तुरको राधेराधेमा सञ्चालनमा आइसकेको र अब अर्को शाखा कास्कीको पोखरमा सञ्चालनमा ल्याउने तयारीमा रहेको म्युजियमका संस्थापक अध्यक्ष सुन्दर विष्टले बताउनुभयो । ललितपुरको कुमारीपाटीमा  ‘वान डे थ्रिडी आर्ट रेष्टुरेन्ट’ को सञ्चालनपछि म्युजियमको धारणामा  ‘वान डे थ्रिडी आर्ट म्युजियम’ को स्थापना गरेका हौँ अध्यक्ष विष्टले बताउनुभयो । 















Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।