विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २८ गते । सप्तरी प्रहरीले बोक्सीको आरोपमा महिलामाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा चार जना प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बोदेबर्साइन नगरपालिका–१ का २४ वर्षीय रामबाबु भनिने रामनारायण यादव, सोही ठाउँका रामचन्द्र मण्डल, सुरुङ्गा नगरपालिका–६ का २२ वर्षीय सुनिलकुमार सदा र महदेवा गाउँपालिका–४ का ४६ वर्षीय शेखर मण्डल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार रामनारायणलाई २०८१ असोज २७ गते बोदेबर्साइन–१ धनगढी टोलमा निरासी यादवनीलाई बोक्सीको आरोप लगाई गालीगलौज गर्दै कालो मसी र सेतो चुना जबर्जस्ती मुखमा लगाउने प्रयास गरेको घटनामा पक्राउ गरिएको हो।
यस्तै, सोही ठाउँका रामचन्द्रलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुधबार बोदेबर्साइन–१ मनौर टोलस्थित आफ्नै घरअगाडि बसेकी सुजान देवी यादवमाथि प्रतिवादी मण्डलसहितका व्यक्तिले गालीगलौज गर्दै बाँसको लाठी, हात, लात र मुक्काले कुटपिट गरी अभद्र व्यवहार गरेका थिए।
त्यस्तै, सुरुङ्गा–६ का सुनिलकुमारलाई बिहीबार सोही ठाउँस्थित बजारमा होहल्ला गरिरहेको अवस्थामा प्रहरीले सम्झाउँदा प्रहरी टोलीलाई गालीगलौज गरी ड्युटीमा बाधा पुर्याएकाले अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ।
महदेवा–४ का शेखरलाई बुधबार राजविराज नगरपालिका–२ मा गंगाधरप्रसाद देवलाई अपशब्द बोल्दै गालीगलौज, धाकधम्की र लछारपछार गरी अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पक्राउ परेका रामनारायण, सुनिलकुमार र रामचन्द्रलाई छ दिन तथा शेखरलाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो।