सुजल श्रेष्ठ
प्यूठान, चैत २७ गते । प्यूठानको सदरमुकाम खलङ्गाको शिरमा रहेको पर्यटकीय क्षेत्र मल्लरानी डाँडामा खाना महोत्सव हुन लागेको छ । मल्लरानी पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्धनका लागि चौथो खाना महोत्सव हुने भएको हो ।
प्यूठान उद्योग वाणिज्य सङ्घ मल्लरानी बजार क्षेत्रको आयोजनामा चैत ३० र वैशाख १ गते महोत्सव आयोजना गरिएको छ । महोत्सवमा स्थानीय उत्पादनका अर्गानिक खानाका परिकारहरू, नेवारी खानाका परिकारहरू, स्थानीय जातका कुखुरा, हाँस, खसी बोका, राँगा, बङ्गुर, बदेल, कालिजका विविध परिकारहरू, चाडपर्व विशेषमा बनाइने खानाका परिकारहरू, चामल, कोदो, मकै, जौ, गहुँका विविध परिकारहरू उपलब्ध हुने महोत्सव मुल समारोह समितिका संयोजक तथा बजार क्षेत्रका अध्यक्ष भरतकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा स्थानीय कला संस्कृतिको प्रदर्शनी सहित, लोक नृत्य प्रतियोगिता, कलाकारहरुले सांस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव सञ्चालन गर्न आयोजकले विभिन्न उपसमितिहरू गठन गरेको छ ।