चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा सामुदायिक विद्यालयको पाठ्यपुस्तक बिक्री गर्न सुरु भएको छ । नयाँ शैक्षिकसत्र सुरु हुनुभन्दा करिव तीन साता अघिदेखि नै सामुदायिक विद्यालयको पाठ्यपुस्तक बिक्री सुरु गरिएको हो ।
जिल्लामा चैत दोस्रो सातापछि सामुदायिक विद्यालयको पाठ्यपुस्तक आउन थालेको थियो । स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीले सामुदायिक विद्यालयको पाठ्यपुस्तक ल्याएर बिक्री गर्ने गरेका छन् ।
पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको संस्था नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ ताप्लेजुङ शाखाले ल्याएको पाठ्यपुस्तक अहिले धमाधम बिक्री सुरु भएको हो । महासङ्घका जिल्ला अध्यक्ष केशवप्रसाद भट्टराईका अनुसार सामुदायिक विद्यायलको कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक बिक्री गर्न सुरु भएको हो ।
पाठ्यपुस्तक बिक्री खुला गरिएसँगै अहिले सामुदायक विद्यालयहरुले धमाधम पाठ्यपुस्तक लैजान थालेका अध्यक्ष भट्टराईले बताउनुभयो । उहाँका अनुसार हालसम्म जिल्लाको ४० वटा बढी विभिन्न सामुदायिक विद्यालयले पाठ्यपुस्तक लगिसकेका छन् ।
आफ्नो विद्यालयलाई आवश्यक पर्ने अर्थात विद्यार्थी सङ्ख्याको अनुपातमा विद्यालयहरुले पाठ्यपुस्तक लैजान थालेका छन् । केही विद्यालयले पाठ्यपुस्तक लगिसकेका छन् भने बाँकी विद्यालयले पाठ्यपुस्तक बुझेर जिल्लामै थन्क्याइ राखेको महासङ्घका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
महासङ्घका अनुसार पहिलो चरणमा कक्षा १ देखि १० सम्मका प्रत्येक कक्षाको एक हजार सेटका दरले पाठ्यपुस्तक ल्याएर बिक्री गर्न थालिएको छ । गतवर्ष ल्याएको केही पाठ्यपुस्तक मौज्दात रहेकाले यसवर्ष सुरुमा एक हजार सेटका दरले पाठ्यपुस्तक ल्याइएको आवश्यकताअनुसार पछि थप गर्ने महासङ्घको योजना रहेको जिल्ला अध्यक्ष भट्टराईले बताउनुभयो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरबाट सामुदायिक विद्यालयका पाठ्यपुस्तक ल्याएर यहाँ बिक्री गर्ने गरेको छ । महासङ्घ बाहेक जिल्लाका अन्य केही पुस्तक व्यवसायीले पनि सामुदायिक विद्यालयको पाठ्यपुस्तक ल्याएर बिक्री गर्ने गरेका छन् ।
ताप्लेजुङमा हाल ३३० वटा सामुदायिक विद्यालय छन् । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका अनुसार कुल विद्यालय सङ्ख्यामध्ये ६२ वटा माध्यमिक तहका छन् । बाँकी कक्षा १–३, कक्षा १–५ र कक्षा १–८ सञ्चालित आधारभूत तहका विद्यालय रहेका इकाई प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो ।
विगतमा हरेक वर्ष बैशाख पहिलो साताभित्रै विद्यार्थी भर्ना अभियानसहित नयाँ शैक्षिकसत्र सुरु हुने गरेकोमा यसवर्ष बैशाख १५ गतेदेखि मात्र नयाँ शैक्षिक वर्ष सुरु हुने वर्तमान सरकारले निर्णय गरेको छ ।