• १५ वैशाख २०८१, शनिबार

मतदान स्थल पुनरवलोकन गरिँदै

blog

काठमाडौँ, साउन ९ गते । निर्वाचन आयोगले मतदान स्थल पुनरवलोकन गर्ने भएको छ। मतदान केन्द्र पायकमा नपरेका कारण मताधिकार प्रयोग गर्न नपाउने अवस्था सिर्जना भएपछि आयोगले मतदान स्थल पुनरवलोकन गर्ने भएको हो। 

गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा हुम्लाको ताजाकोट गाउँपालिकाको मासपुरका स्थानीयले मतदान गर्न १० घण्टा पैदल यात्रा गर्नुपरेको थियो। मासपुरको मतदान केन्द्र थापागाउँस्थित कैलाश प्राथमिक विद्यालयमा तोकिएको थियो। घण्टौँ हिँड्नुपरेपछि सबै मतदाताले मताधिकार प्रयोग गर्न पाएका थिएनन्। यस्तो अवस्था देशका अन्य स्थानमा पनि सिर्जना भएको थियो।

जिल्ला प्रशासन कार्यालय, हुम्लाका सूचना अधिकारी अनुपम पौडेलले मतदान गर्नबाट कोही वञ्चित नहुन् भन्नका लागि मतदान स्थल पुनरवलोकनको अभ्यास हुन लागेको बताउनुभयो। उहाँले मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठक बसेर मासपुरको मतदान केन्द्र पायक पर्ने स्थानमा तोक्ने बताउनुभयो। हुम्लाको ५४ मतदान स्थलमध्ये अधिकांशमा पुग्न मतदाताले दुईदेखि तीन घण्टाको पैदल यात्रा गर्नुपरेको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले मतदान स्थल पुनरवलोकनका लागि सोमबार राजनीतिक दलसँग छलफल गर्दैछ। 

मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकनका लागि निर्वाचन आयोग आफैँ पनि सक्रिय भएको छ। आयोगमा आएका गुनासाकै आधारमा कतिपय मतदान केन्द्र निजी जग्गामा परेको, साबिकको गाविस भवन भत्किँदा मतदाताले खुला आकासमुनि मतदान गर्नुपर्ने बाध्यता थियो। अन्तिम समयमा आयोगले टेन्टका लागि आवश्यक बजेट उपलब्ध गराएपछि ती स्थानको मतदान केन्द्र व्यवस्थित बनाइयो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “मतदान गर्न घण्टौँ पैदल हिँड्नु परेको, मन्दिर तथा निजी जग्गामा मतदान केन्द्र भएको, एउटा वडाका मतदाता अर्को वडामा मतदान गर्न जानुपरेको जस्ता गुनासाबारे अध्ययन गर्न जिल्लास्थित समितिलाई निर्देशन दिइएको छ।”

निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्र सिफारिस समितिलाई भदौ ७ गतेभित्र मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकनको कार्य सम्पन्न गर्न निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनमा अत्यधिक गुनासो आएपछि आयोगले मतदान स्थल र मतदान केन्द्र पुनरवलोकन गर्न लागेको हो। 

उहाँले आगामी प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई केन्द्रित गरी मतदान स्थल पुनरवलोकन गर्न लागेको बताउनुभयो। जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मतदान स्थल र केन्द्र सिफारिस समितिले स्थानीय निर्वाचनमा कायम मतदान स्थल र केन्द्रबारे थप अध्ययन गर्ने आयोगले जनाएको छ। उक्त समितिको सिफारिसको आधारमा निर्वाचन आयुक्तको संयोजकत्वमा रहेको मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकन समितिले आवश्यक निर्णय गरेर मतदान स्थल तोक्नेछ। 

गत स्थानीय निर्वाचनमा केही थपिए पनि अधिकांश मतदान स्थल पाँच वर्षअघिकै कायम गरिएको थियो। आयोगका आयुक्तको संयोजकत्वमा रहेको मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिको बैठकले सबै राजनीतिक दलको जिल्ला समितिलाई मतदान स्थल पुनरवलोकन कार्यमा सघाउन आग्रह गरेको छ। बैठकले पुनरवलोकन कार्यमा सहजीकरण गर्न गृह मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई समेत आग्रह गरेको हो। स्थानीय निर्वाचन २०७९ मा १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएको थियो।