राममणि दाहाल
मकवानपुर, चैत १९ गते। आज (बिहीबार)देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा परीक्षा हलभित्र मोबाइल लैजान निषेध गरिएको छ। मोबाइल भेटिएमा जफत गरी नष्ट गरिने जनाइएको छ।
माध्यमिक शिक्षा परीक्षा (एसइई), २०८२ लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न जिल्ला परीक्षा समन्वय समिति, मकवानपुरले मोबाइललगायत विभिन्न सामग्री परीक्षा हलमा लैजान निषेध गरेको हो।
समितिका अनुसार परीक्षा केन्द्रभित्र खटिने केन्द्राध्यक्षबाहेक निरीक्षक र विद्यार्थीहरूले मोबाइल, स्मार्टवाच, विद्युतीय क्याल्कुलेटर, अन्य इलेक्ट्रोनिक डिभाइस, किताब, नोटबुक, गेसपेपर तथा अन्य चिटिङ सामग्री परीक्षा हलभित्र लैजान पाउने छैनन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेले बुधबार जारी गरेको सूचनामा परीक्षा हलभित्र भेटिएका मोबाइल जफत गरी नष्ट गरिने तथा सम्बन्धित परीक्षार्थीलाई परीक्षा हलबाट निष्कासन गरिने उल्लेख छ।
एसइईलाई व्यवस्थित, मर्यादित, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकारवालालाई सहयोगका लागि आग्रह गरिएको छ।
यस वर्षको एसइईमा नियमित र ग्रेडवृद्धितर्फ गरी मकवानपुरबाट सात हजार १९२ परीक्षार्थी सहभागी हुँदैछन्।
शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुरका अनुसार नियमिततर्फ पाँच हजार ५२७ र ग्रेडवृद्धितर्फ एक हजार ६६५ परीक्षार्थी रहेका छन्।
नियमिततर्फ गत वर्षको तुलनामा यस वर्ष ३८८ जना परीक्षार्थी घटेका छन्। गत वर्ष कुल सात हजार ४५६ परीक्षार्थी सहभागी भएकोमा नियमिततर्फ पाँच हजार ८६५ र ग्रेडवृद्धितर्फ एक हजार ५९१ जना रहेका थिए।
शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुरले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्र रहेका विद्यालयमा पुर्याइसकिएको छ।
प्राविधिक धार र २०७९ सालको ग्रेडवृद्धि परीक्षा हेटौँडामा सञ्चालन हुनेछ। प्राविधिक धार र ग्रेडवृद्धिको परीक्षा केन्द्रसहित जिल्लामा २८ वटा परीक्षा केन्द्र तोकिएको छ।
परीक्षा केन्द्र रहेका विद्यालयका प्रधानाध्यापक नै केन्द्राध्यक्ष हुने व्यवस्था गरिएको छ। एसइईमा जिल्लाका ३७ संस्थागत विद्यालयसहित १४२ विद्यालयका विद्यार्थी सहभागी हुँदैछन्।