मृत्यु फरक शैलीमा आइरहेछ
मनिर
ऊ मभित्र गहिरोसँग रोपिइसकेको छ
न म उसलाई उखालेर फ्याक्नु सक्छु
न ऊबाट भाग्न
तथापि
म रोप्न सक्छु फूल जसले सजिन सक्छन्
कुरीति फेर्नेका छाती
म फलाउन सक्छु अन्न र सागपात जसले अघाउन सक्छन्
भोकाहरू
रच्न सक्छु सुन्दर कविता जसको झिल्काले
झङ्कृत हुन्छ मानव मन–मस्तिष्क र प्रस्फुरण हुन्छ नयाँ विचारको बीज
ऊ विस्तारै आउँछ तिम्रो हातमा टेकेर
तिमीले मेरो निधार सुम्सुम्याइरहेको बेला
म अन्तिम पटक तिमीहरूलाई हेर्छु
र हेर्छु संसारलाई
सुन्दर बनाउन नसकेको
उसले मेरो निधार चुम्छ
मेरो धड्कन बन्द हुन्छ !