• ८ वैशाख २०८१, शनिबार

आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने अध्यक्ष नेपालको दाबी

blog

काठमाडौं, साउन ७ गते । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने चेतावनी दिनुभएको छ ।

आगामी मङ्सिर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै अध्यक्ष नेपालले अब गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताउनुभएको हो ।

पार्टी निकट नेपाल तामाङ सङ्घ समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले गठबन्धनको डम्फू बजाउने काम छोडेर पार्टीको सङ्गठन सुदृढीकरणको काममा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारुढ अन्य दलहरुले आफूहरुलाई सहयोग नगरेको अध्यक्ष नेपालको भनाइ थियो ।

स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा नौ लाख २७ हजार भोट पाएको उल्लेख गर्नुहुँदै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आम निर्वाचनमा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गर्नुभयो ।

उहाँले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो पार्टीले आगामी निर्वाचनमा कम्तीमा १२ सिट जित्ने उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले छोटो समयमै आफ्नो पार्टीले सुदृढ भएर नयाँ कीर्तिमान कायम गरेको जिकिर गर्नुभयो ।