• १३ चैत २०८२, शुक्रबार

भू–सेवा केन्द्र सञ्चालन गर्न सम्झौता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १३ गते । काठमाडौँ महानगरपालिका र महानगरभित्र रहेका मालपोत कार्यालयबिच भू–सेवा केन्द्र सञ्चालन गर्न सम्झौता भएको छ । 

काठमाडौँ महानगर, भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, मालपोत कार्यालय चाबहिल र मालपोत कार्यालय कलङ्कीबिच बिहीबार सो सम्झौता भएको महानगरको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । महानगरको तर्फबाट कार्यवाहक प्रमुख सुनिता डङ्गोल र सम्बन्धित मालपोत कार्यालयका प्रमुखहरूले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार महानगरपालिकाले आवश्यक पूर्वाधार, जनशक्ति र प्रविधि व्यवस्थापन गर्नुका साथै नामसारी निवेदन, लिखत पारित तथा सेवासम्बन्धी कागजात सङ्कलन, प्रमाणीकरण र प्रणालीमा अपलोड गर्ने जिम्मेवारी पनि महानगरको हुने प्रशासन प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख डङ्गोलले वडा तहबाटै भू–सेवा सञ्चालन गर्नका लागि मालपोत कार्यालयसँग सम्झौता गरेको जानकारी दिँदै भू–सेवा सञ्चालन गर्न महानगरले आवश्यक कर्मचारीसमेत व्यवस्थापन गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले केही समय अगाडिदेखि नै भू–सेवा वडाबाटै दिने निर्णय गरेका थियौँ । यो सम्झौतासँगै हामीले भू–सेवालाई वडाबाटै उपलब्ध गराउने छौँ ।”

प्रशासन प्रमुख काफ्लेले सुरुमा १० वटा वडाबाट भू–सेवा सञ्चालन गरिने छ भने बिस्तारै अन्य वडामा पनि सेवा विस्तार गरिने जानकारी दिनुभयो । वैशाखदेखि यो सेवा सञ्चालन गरिने छ । भू–प्रशासन निर्देशिका, २०८१ अनुसार सेवा प्रवाह सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले सम्झौता गरिएको महानगरले जनाएको छ ।

सम्झौतामा सेवा प्रवाह अनुगमन तथा समन्वयका लागि संयुक्त टोली गठन गरिने सम्झौतामा उल्लेख छ । कुनै विवाद उत्पन्न भएमा आपसी छलफलबाट समाधान गर्ने र आवश्यक परे प्रचलित कानुन अनुसार समाधान गरिने प्रावधानसमेत सम्झौतामा समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।