• ७ जेठ २०८१, सोमबार

दरिद्रता : दस प्रकरण

blog

१. 

यति दरिद्र पनि के हुनु ?

एकदुई तोला लज्जा पनि नहोस् आफूसँग 

यति दरिद्र पनि के हुनु ?

तीनचार मासा इमान पनि नहोस् आफूसँग 

यति दरिद्र पनि के हुनु ?

पाँचछ लाल निश्छलता पनि नहोस् आफूसँग 

... ... ...

यति दरिद्र हुने छुट कसैलाई छैन ।  


२. 

म यता रोटीको पहाडको फेदीमै छु 

उनीहरू उता फोब्र्सको चुली चढिसकेछन् 

लोकसेवा परीक्षार्थीहरू हो !

रट्नुपर्ने कुरा अर्कै छ– 

को हो यो दुनियाँको सबैभन्दा नृंशस अर्बपति ?

जो अर्बाैं मान्छेको दरिद्रतामाथि उभिएको छ ।   


३.

तिमी मलाई कहिले कोटसँग जोख्छौ 

कहिले जुत्तासँग  

कहिले वालेटसँग 

मलाई नजोखी तिमी यत्तिकै 

आत्मसात् गर्र्नै सक्दैनौ

ए आँखामा ढक–तराजु बोकेर हिँड्ने मान्छे ! 

मलाई तिम्रो दरिद्रताप्रति खेद छ । 


४.

गोजीमा एक कप चिया खाने दम नहुनु 

अथवा एउटा चुरोट खाने पैसा नहुनु 

र पनि 

दरिद्रताको आभास छैन 

तर फन्किएर हिँड्ने एउटा साथीले

मलाई संसारकै दरिद्र बनाइदिन्छ । 


५.

यो देश के सारो दरिद्र भाको ?

प्रेमिका र प्रेमीहरूलाई दिनका निम्ति 

योसँग चक्कुको धारसिबाय केही छैन 

यो देश हो कि 

चक्कुको उपनिवेश ? 

मेरो प्रेम बाँसुरी हो 

धुनमा निमग्न हुन नसक्ने दरिद्रता नत्यागेसम्म 

यो देश मेरो प्रेमको लायक हुन सक्दैन । 


६.

कमरेडलाई अचेल रातो मन पर्दैन 

पिङ्क मन पर्छ 

उहाँले भर्खरै घरमा पिङ्क कलर लगाउनुभएको छ 

हालसालै किनेको नयाँ गाडी पनि पिङ्क कलरकै छ 

सुट पनि पिङ्क लगाउनुहुन्छ 

रातोसँग टुटिसकेको छ मोह 

यो दरिद्रहरूको रङ हो– उहाँलाई तìवबोध भइसक्यो 

उहाँको विचार पनि पिङ्क भइसकेको छ 

बस्, रातोबाट फिक्किँदै फिक्किँदै जानुको 

दरिद्रताको उहाँलाई हेक्का छैन । 


७.

दरिद्रताको पाराकाष्ठा हो यो 

मान्छेहरूसँग मुटु बाँकी छैन 

बेलुनका मुटुहरूमार्फत् 

साटासाट हुन्छ प्रेम

मार्फत गरिएपछि 

प्रेमसँग न धड्कन बाँकी रहन्छ, न रगत 

यति दरिद्र हालतमा प्रेमलाई भेट्नु  

पृथ्वीको अन्तिम त्रासदी हो । 

८. 

‘जि’देखि ‘गी’सम्म

जिन्दगी सर्वत्र अभावग्रस्त किन नहोस् 

कुनै गुनासो छैन 

लत्रेर–झुकेर बाँच्ने एउटा मृत्युबाहेक 

जतिवटा गरिबी पनि धारण गर्न सक्छु म । 


९.

सारा प्रयत्न यही हुनुपर्छ, कि– 

दरिद्रता डाइनासोर भइजाओस् 

तर यो सारा प्रक्रियामा 

मान्छेभित्र 

मान्छे विलुप्त भएर 

कुनै खुङ्खार प्राणीको 

जन्म हुनु हुँदैन ।


१०.

म त के थिएँ र ?

दरिद्रताको पिँजडामा बन्दी 

पन्छी न थिएँ 

बन्धनको तार ठुङ्दाठुङ्दा जीवन रगतपच्छे थियो 

र, एक दिन 

तिमीले मलाई तिम्रा आँखाहरूको अँगालोमा

यसरी बाँधिदियौ, कि– 

म मुक्त भएँ 

सिङ्गै आकाश मेरो भयो । 

  

एउटा कविको हैसियतले 

यति दरिद्र प्रेम

दलालहरूको धन्दा न हुने हो ।