• ८ जेठ २०८१, मङ्गलबार

वर्षदिन पनि टिकेन सडक

blog

बुटवल, साउन ७ गते  । रुपन्देहीको गैडहवा गाउँपालिकाको २५ लाख रुपियाँ लगानीमा निर्माण भएको पाँच सय मिटर सडक एक वर्ष नहुँदै भत्किएको छ ।  सडक भत्किएपछि स्थानीयले निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको र प्राविधिक लापरबाही भएको भन्दै पुनः निर्माणको माग गरेका छन् । 

सडक अनुगमन गर्ने गाउँपालिकाका इन्जिनियरको लापरबाहीका कारण सडक भत्किएको आरोप स्थानीयको छ । गैडहवा–९, मन्द्रानी टोलदेखि वडा कार्यालय जाने सडक आर्थिक वर्ष २०७७/ ७८ को बजेटबाट निर्माण भएको हो ।  करिब २५ लाख बजेटमा निर्माण भएको हो । स्थानीयले सडक कमसल निर्माण भएको विषयमा पटक पटक इन्जिनियरलाई जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको गुनासो गरेका छन् ।

स्थानीय रामअवधेश यादवले सडक भत्किनुमा इन्जिनियरको समेत मिलेमतो रहेको बताउनुभयो । सडक निर्माण गर्दा कम्पनीले कमसल बिटुमिन प्रयोग गरेको आरोप स्थानीयको छ । गैडहवा गाउँपालिकाका इन्जिनियर रमेश यादवले एक वर्षअघि निर्माण भएको सडक पुनः निर्माणका लागि लक्की डिजाइनर्स एन्ड बिल्डर्सलाई ताकेता गरेको बताउनुभयो ।