अर्जुन काफ्ले
स्याङ्जा, चैत ६ गते । ग्रामीण सडकमा बढ्दो सवारी चाप र सम्भावित दुर्घटनालाई लक्षित गर्दै स्याङ्जा ट्राफिक प्रहरीले विशेष सचेतना अभियान सुरु गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सञ्चालनमा ल्याएको ‘सुरक्षित ग्रामीण सडक यात्रा’ कार्यक्रममा गाउँ–गाउँमा ट्राफिक अनुशासनको सन्देश पुर्याउने लक्ष्य राखिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीका अनुसार, “शहरी क्षेत्रमा जस्तो नियमित निगरानी ग्रामीण सडकमा सम्भव नहुँदा सवारी साधनको अवस्था, चालकको व्यवहार र नियम पालनामा कमजोरी देखिन्छ। त्यसैले यो अभियान आवश्यक छ।”
अभियानअन्तर्गत गाउँ–गाउँमा पुगेर चालक, सहचालक तथा यात्रुहरूलाई ट्राफिक नियम, सवारीको मर्मत अवस्था र सुरक्षित यात्राबारे जानकारी दिइँदैछ।
शाहीले बताउनुभयो, “ग्रामीण क्षेत्रमा हुने साना लापरबाहीले समेत ठूलो दुर्घटना निम्त्याउन सक्छ। त्यसैले प्रत्येक सडक प्रयोगकर्ताले जिम्मेवार बन्नु आवश्यक छ। नियम पालनाले दुर्घटना धेरै हदसम्म रोक्न सकिन्छ।”
ट्राफिक प्रहरीले ग्रामीण सडक खण्डमा स्थानीय तह, विद्यालय, यातायात व्यवसायी र सर्वसाधारणलाई सचेतना फैलाउनेछ। यस अभियानमार्फत सवारी साधनको प्राविधिक अवस्था जाँच गर्न प्रेरित गर्ने, चालकलाई जिम्मेवार बनाउने, यात्रुमा सचेतना बढाउने र सडक प्रयोगकर्ता बीच अनुशासन कायम गर्ने लक्ष्य राखिएको छ।
साथै, ग्रामीण सडक पूर्वाधार सुधारमा सम्बन्धित निकायलाई सुझाव दिने कार्यसमेत अभियानको हिस्सा रहने जनाइएको छ।
यस कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरण, जनधनको क्षति कम गर्ने र ट्राफिक प्रहरी तथा सर्वसाधारणबीच सहकार्यको वातावरण बनाउने अपेक्षा गरिएको छ। अभियान हाल जिल्लाका विभिन्न ग्रामीण सडक खण्डमा सुरु भइसकेको छ भने आगामी दिनहरूमा थप स्थानमा विस्तार गरिने ट्राफिक कार्यालयले जनाएको छ।