• ६ चैत २०८२, शुक्रबार

पेट्रोलियम पदार्थमा कालोबजारी गरे कारबाही

blog

टीकापुर बजार अनुगमन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको टोली । तस्बिर : एकिन्द्र तिमिल्सेना

धनगढी समाचारदाता

धनगढी, चैत ६ गते । पेट्रोलियम पदार्थलगायतका अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने निर्णय गरिएको छ । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो । बैठकले बजार आपूर्ति व्यवस्थापन एवं ग्यासलगायतका वस्तुको नियमन गर्दा कालोबजारी गरेको, लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सम्बन्धित निकायले प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गरिएको हो । 

बैठकले उपभोक्ता संरक्षण ऐन नियमावलीलगायतका प्रचलित कानुनबमोजिम गठित अनुगमन समिति तथा संयन्त्रमार्फत बजार अनुगमनलाई थप प्रभावकारी बनाइने निर्णय पनि गरेको छ । बजार अनुगमन तथा आपूर्ति नियमनकारी निकायलाई व्यावसायिक सङ्घ संस्था, व्यवसायी, उपभोक्तावादी सङ्घ संस्थाले आवश्यक सहयोग र समन्वय एवं सहजीकरण गर्ने पनि बैठकले निर्णय गरेको छ । त्यस्तै उपभोक्तालाई त्यस्ता पदार्थको मितव्ययी प्रयोेग, खपत न्यूनीकरण, वैकल्पिक ऊर्जाको प्रयोगमा प्रोत्साहन गर्न जनचेतनामूलक सूचना एवं सन्देश प्रवाह गर्ने पनि बैठकले निर्णय गरेको छ । हालसम्म  पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यकीय वस्तुको बजार आपूर्तिमा असहजता नरहेको बैठकमा जानकारी गराइएको छ । 

रेकर्ड राखेर बिक्री गर्ने निर्देशन

टीकापुर समाचारदाताका अनुसार टीकापुर बजारका पेट्रोल पम्प र ग्यास डिलरको अनुगमन गरिएको छ । बुधबार जिल्ला अनुगमन समितिले पेट्रोलियमको अवस्था अनुगमन गरेको हो । सहायक प्र्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपाल आयल निगमलगायतका कार्यालयका प्रतिनिधिले बजार अनुगमन गरेका हुन् । यहाँ सैपाल, मनकामना, रेडियन्टलगायतका ग्यास कम्पनीले भने आधा सिलिन्डर उपलब्ध गराउन थालेको तर भेरी ग्यासको आपूर्ति न्यून भएको पाइएको छ । 

“ग्यास विक्रेता न्यु एब्रिला ट्रेडर्सका सञ्चालक गौरीकुमार न्यौपानेले आधा मात्रै भरिएको सिलिन्डर ढुवानी गर्दा ढुवानी लागत बढेको गुनासो गर्नुभयो । पहिले दैनिक ५० देखि एक सय वटा सिलिन्डर ग्यास बिक्री हुने गरेकोमा अहिले दैनिक २३४ सिलिन्डर ग्यास ल्याउँदा पनि टिपाटिप हुने गरेको छ,” न्यौपानेले भन्नुभयो, “भौतारिँदै खोज्न आउने सङ्ख्या घटेको छ, अब बिस्तारै सहज होला ।”

भेरी ग्यासको विक्रेता रोजी ट्रेड सप्लायर्सका सञ्चालक राजेन्द्र चौधरीले एक हप्तादेखि भेरी ग्यासले आपूर्ति नगरेकाले समस्यामा परेको बताउनुभयो । चौधरी भन्नुहुन्छ, “अब पठाउँछु भनेको छ भेरी ग्यास आएमा बजारको अभाव केही मात्रामा भए पनि कम हुने छ ।” कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले टीकापुरमा पेट्रोल र डिजेलको अभाव नरहेको तर भेरी ग्यासका उपभोक्ताले नपाएको बताउनुभयो । जोशीले भन्नुभयो, “उपभोक्ताले ग्यास घरमा थुपारेका हुन सक्छन ।

विक्रेतालाई उपभोक्तालाई ग्यास दिएको बिल जारी गरी रेकर्ड राख्न निर्देशन दिइएको छ ।” यहाँ डिजल र पेट्रोलको आपूर्ति भने सहज भइरहेको छ ।