• ६ चैत २०८२, शुक्रबार

सवारी चलाउँदै गर्दा बेहोस भएका चालकको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल
दमक, चैत ६ गते ।
झापामा यात्रु बोकेको स्कारपियो गाडीका चालक सवारी चलाउँदै गर्दा अचानक बेहोस भई मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५, सितापुरी चोकमा प्र.१–०४–००१ च ००८० नम्बरको स्कारपियोका चालक ४५ वर्षीय योगेश धिमाल अचानक बेहोस हुनुभएको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स्कारपियोका चालक धिमालले असहज महसुस भएपछि गाडी रोकेका थिए। त्यसपछि उहाँ बेहोस हुनुभएको थियो।

यात्रुहरूले तत्काल प्रहरीलाई खबर गरी उद्धार गरेर उपचारका लागि दमकस्थित निम्स अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याएको केहीबेरमै धिमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। अप्ठ्यारो महसुस हुनासाथ गाडी किनारमा रोकेका कारण ठूलो दुर्घटना टरेको एक यात्रुले बताएका छन्।