• १४ असार २०८१, शुक्रबार

नेपाल दक्षिण एसियामा सबल अर्थतन्त्र भएको मुलुक बन्ने छ : सञ्चारमन्त्री कार्की

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

हेटौंडा, साउन ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल चाँडै नेपाल दक्षिण एसियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने बताउनुभएको छ । शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको नवौं महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री कार्कीले यस्तो दाबी गर्नुभएको हो ।

नेपाल श्रीलङ्काको बाटो नगएको भनाइ उहाँको छ । नेपालको अर्थतन्त्रमा केही समस्या रहेपनि श्रीलङ्काको बाटोमा नेपाल नरहेको मन्त्री कार्कीले बताउनुभयो । उहाँले आगामी दश वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत गरेर अघि बढ्ने बताउनुभयो ।

मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिबद्ध रहेको पनि दाबी गर्नुभयो । सरकार दक्षिण एसियामा नै प्रेस स्वतन्त्रताको अग्रणी देशको रुपमा नेपाललाई स्थापित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिबद्ध छ । त्यतिमात्र होइन, नेपाली कांग्रेस सदैव प्रेस स्वतन्त्रतालाई अक्षुण राख्न चाहन्छ । यो सरकार दक्षिण एसियामा नै प्रेस स्वतन्त्रताको अग्रणि देशको रुपमा नेपाललाई स्थापित गर्न चाहन्छ ।”

नेपाल श्रीलङ्काको बाटोतर्फ गइरहेको भनेर गलत हल्ला फैलाइएको भन्नुहुँदै उहाँले भन्नुभयो, “नेपालको अर्थतन्त्रमा केही समस्याहरु छन्, तर नेपाल श्रीलङ्काको पथमा जाँदैन । जुन भ्रम छ त्यसलाई चिरेर नेपाली जनतालाई, हामीले आश्वस्त गर्न जरुरी छ । नेपाल चाँडै नै दक्षिण एशियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा स्थापित हुनेछ ।”

आगामी सङ्घ र प्रदेशको चुनावपछि दश वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत गर्ने गरेर जानुपर्ने उहाँको भनाइ छ ।

सञ्चारमन्त्री कार्कीले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी परियोजना पारित गरेपछि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परिरहेको पनि बताउनुभयो ।