• ५ चैत २०८२, बिहिबार

जग्गाधनीपुर्जा वितरणको तयारी

blog

जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै । तस्बिर : कृष्णबहादुर धामी

खलङ्गा समाचारदाता 

खलङ्गा (दार्चुला), चैत ५ गते । नेपाल सरकार भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले थप ११ जना अव्यवस्थित बसोबासी, भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी थालेको छ । यहाँको दुई स्थानीय तहबाट सूचीकृत भएका सात अव्यवस्थित बसोबासी र चार सुकुमवासी गरेर ११ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरणको प्रक्रिया अगाडि बढेको हो । भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले भन्नुभयो, “जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका सुकुमवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढेको छ ।” 

यसअघि यहाँको दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिकाका ७२ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसकेको अध्यक्ष धामीले जानकारी दिनुभयो । 

समितिले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन १५ दिनभित्र जग्गा दर्ता गर्न आउन सूचना जारी गरेको छ । यसैबिच यहाँका नौ वटै स्थानीय तहका तीन हजार ७२० भूमिहीन, दलित, सुकुमवासी, अव्यवस्थित बसोबासी र विगतमा काम अधुरा तथा अपूरा रहेकालाई जग्गाधनी प्रमाणपुर्जा दिन बाँकी रहेको छ । 

आयोगले अहिले विगतमा काम अधुरा र अपूरा रहेका सेतो प्रमाणपुर्जा भएका नौगाड गाउँपालिकाका चार र महाकाली नगरपालिकाका सात जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने अन्तिम तयारी गरेको पनि उहाँले बताउनुभयो । 

उहाँले अव्यवस्थित बसोबासीलाई राजस्व चुक्ता गरेपछि तथा सुकुमवासीलाई निःशुल्क रूपमा प्रमाणपुर्जा वितरण गर्ने गरिएको बताउनुभयो । यहाँको महाकाली नगरपालिकामा ४३१, शैल्यशिखर नगरपालिकामा ६२८, लेकम गाउँपालिकामा १७३, नौगाड गाउँपालिकामा ३२७, मार्मा गाउँपालिकामा १६८, अपिहिमाल गाउँपालिकामा ६९१, मालिकार्जुन गाउँपालिकामा ९४७, दुहुँ गाउँपालिकामा १६१ र व्यास गाउँपालिकामा २६६ भूमिहीन, दलित, सुकुमवासी, अव्यवस्थितको सङ्ख्या रहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले जनाएको छ । स्थानीय तहले तथ्याङ्क सङ्कलनलाई तीव्र रूपमा अगाडि बढाए जिल्लाको भूमिसम्बन्धी सबै समस्या हल हुने जिल्ला समिति दार्चुलाका अध्यक्ष धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका सबै अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने लक्ष्य छ । सबै जनप्रतिनिधि र स्थानीय तहले साथ दिनु प¥यो,” उहाँले भन्नुभयो ।