• ५ चैत २०८२, बिहिबार

गर्मी लागेसँगै आउन थाले पाहुना चरा

blog

धनगढी समाचारदाता

धनगढी, चैत ५ गते । गर्मी बढ्न थालेसँगै नेपालमा गर्मी पाहुना चरा आउन थालेका छन् । बच्चा कोरल्नका लागि कोइली, स्वर्गचरीलगायतका विभिन्न प्रजातिका चरा नेपाल आउन थालेका हुन् । हिउँदे आगन्तुक चरा उत्तरी ध्रुवबाट नेपाल आउने गरे पनि गर्मीयामका आगन्तुक चरा भने दक्षिणतर्फबाट नेपालमा आएर रमाउने, बच्चा कोरल्ने र हुर्काउने गर्छन् ।  

गर्मी आगन्तुक चराको चहलपहल बढ्न थालेसँगै कोइलीको कुहुँ कुहँु सुनिन थालेको छ । यसै गरी काफल पाक्यो आवाजले वसन्त ऋृतुमा मोहकता थपिरहेको छ । हिउँदे आगन्तुक चरा उत्तरी ध्रुवतर्फ फर्किरहेका बेला कोइलीलगायत चरा नेपाल आउन थालेको संरक्षणकर्मीसमेत रहेका कैलालीको टीकापुर नगरपालिका–७ का भोजराज ढुङ्गानाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “कतिपय चराका प्रजाति आइसकेका छन् । अब केही दिनभित्रै स्वर्गचरी पनि देखा पर्न थाल्छन् ।” 

हिउँदे आगन्तुक चरा सिमसारमा रमाउँदा गर्मी सिजनमा आउने पाहुना चरा भने गाउँघर र वनक्षेत्रमा रमाउने गर्छन् । दक्षिणतिरबाट नेपाल आउने चरामध्ये निकै आकर्षक स्वर्गचरीले गाउँघरमै पुगेर बच्चा कोरल्ने र हुर्काउने गरेको चराविज्ञ बताउँछन् । यसै गरी कोइली प्रजातिका कोहो कोइली, जुरे कोइली, ठुलोजुरे कोइली, बिउकुहियो, पपिहा कोइली, काफल पाक्यो, कुक्कु कोइली, पूर्वी कोइली, सानो कोइली, फुस्रो सानो कोइली र हरित कोइलीले वनक्षेत्रमा बच्चा कोरल्ने गरेका चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो । उहाँका अनुसार मार्चमा नेपाल आएका चरा छ महिनासम्म नेपालमा रमाउने र बच्चा हुर्काएर फर्कने गरेका छन् । उहाँ भन्नुहुन्छ, “अगस्ततिर यस्ता चरा बच्चा हुर्काएर फर्कने गर्छन् ।” उहाँका अनुसार ती चरा दक्षिण भारत, म्यान्मार, थाइल्यान्ड, श्रीलङ्का, दक्षिण अफ्रिकालगायतबाट नेपाल आइपुग्छन् । यतिबेला यी देशमा गर्मी अत्यधिक बढ्छ भने उनीहरूका लागि नेपालको वातावरण निकै अनुकूल रहने गर्छ ।