• १३ साउन २०८१, आइतबार

सात लाख बिरुवा रोपिने

blog

शिवशङ्कर मिश्र

बारा, साउन ६ गते  । डिभिजन वन कार्यालय सिमरा बाराले यस वर्ष सात लाख बिरुवा रोपिने लक्ष्य राखेको छ । जिल्ला वन कार्यालय मातहत रहेका सातवटा नर्सरीबाट उत्पादन भएका विभिन्न प्रजातिका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको डिभिजन वन कार्यालयका योजना अधिकृत अनिल साहले बताउनुभयो ।

जिल्लाका चारवटा निर्वाचन क्षेत्रको तामागढी, सिम्रौनगढ, डुमरवाना, कलैया, फेटा, बरियारपुर र सिमरामा गरी एक वर्षे तथा दुई वर्षे बिरुवा तयारी अवस्थामा रहेको तथा हालका दिनसम्म २५ प्रतिशत बिरुवा वितरण पनि भई सकेको उहाँले जानकारी दिनुभयो । चारवटा साझेदारी तथा छवटा सामूहिक वनले पनि यस वर्ष बिरुवा रोप्ने कार्यक्रम तय गरेका छन् । 

गढीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैया, हलखोरिया साझेदारी वन व्यवस्थापन समिति डुमरवाना, सहजनाथ साझेदारी वन व्यवस्थापन समिति र तामागढी साझेदारी वन व्यवस्थापन समितिको पनि बिरुवा रोप्ने कार्यक्रम रहेको जनाएका छन् । 

बरियारपुर नर्सरीबाट अहिले दैनिक १४÷१५ जना व्यक्तिले बिरुवा लगिने गरेको नर्सरीका नायक योगेन्द्र राउत बरैले जानकारी दिनुभयो । यस नर्सरीमा दुई लाखभन्दा बढी, जडीबुटी अमला, बेल, रिट्ठा, राज वृक्ष, सिसौँ, मसाला, टिकलगायतको बिरुवा वितरण भइरहेको उहाँले बताउनुभयो । उता गढीमाई साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष शिवजीप्रसाद साहले साझेदारीअन्र्तगत रहेका १५ वटा साविक गाविसका बासिन्दालाई निःशुल्क रूपमा आँप, लिच्ची, कटहरलगायतका फलफूलसहितको विभिन्न प्रजातिका बिरुवा वितरण गर्नुभएको हो । वातावरण स्वच्छ राख्नुको साथै हरियाली जिल्ला बनाउन साझेदारीबाट गाउँ टोलमा गएर आफूहरूले बिरुवा वितरण गर्ने गरेको उहाँले जानकारी दिनुभयो । 

गत वर्ष डिभिजन वन कार्यालय सिमरा बाराले छ लाख बिरुवा वितरण गरेको थियो । जिल्लाका १६ स्थानीय पालिकामा डिभिजन वन कार्यालय सिमराले बिरुवा वितरण गरी रोप्न लगाएको थियो । वन कार्यालय मातहत रहेका सातवटा नर्सरीबाट उत्पादन गरेका विभिन्न प्रजातिका बिरुवा वितरण गरेका डिभिजन वन प्रमुख विनोद सिंहले बताउनुभयो । वन अतिक्रमित क्षेत्रमा रहेका करिब २० हेक्टर ऐलानी जग्गामा अहिलेसम्म ३२ हजार बिरुवा रोपी सकेको उहाँले जानकारी दिनुभयो ।