• १४ वैशाख २०८१, शुक्रबार

जर्जियाको ‘मिस्ड कल’ले नेपालीलाई तनाव

blog

काठमाडौँ, साउन ६ गते । कहिले ह्वाट्सएपमा लाखौँको चिट्ठा परेको म्यासेज त कहिले व्यक्तिगत नम्बरहरूबाट आउने ओटीपी। अनि कहिले म्यासेन्जरमा आउने ‘स्पाम लिङ्क’ । नेपाली दूरसञ्चार प्रयोगकर्ता प्रायः केही न केही जोखिमको सामना गरिरहेका हुन्छन्। 

यस्तैमा पछिल्लो समय प्रयोगकर्तालाई तनाव दिने अर्को प्रवृत्ति देखिन थालेको छ, मिस्ड कल। त्यो पनि नेपालभित्रबाट हैन जर्जियाबाट। पश्चिम एसिया र पूर्वी युरोपबीचमा पर्ने यस देशबाट पछिल्लो समय नेपालीलाई तारन्तार फोन आउने गरेको छ। अपरिचित नम्बरबाट आउने त्यस्ता कलले प्रयोगकर्तालाई अलमल बनाइदिएको छ। पछिल्लो समय धेरै मोबाइल प्रयोगकर्ताले यस्तो कलको सामना गर्नु परेको छ। जहाँ फोन त आउँछ, तर उठाउन नपाउँदै काटिन्छ । यस्ता कल प्रायः +९५५ बाट सुरु भएका नम्बर छन्। यो जर्जियाको ‘कन्ट्री कोड’ हो। नेपालका दूरसञ्चार प्रयोगकर्तालाई झुक्याएर उनीहरूलाई कल फिर्ता गर्न बाध्य पार्ने उद्देश्यले यस्ता कल गरिने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय रोयले जानकारी दिनुभयो। यस किसिमको काममा सम्बन्धित देशका सेवा प्रदायकभन्दा पनि तेस्रो पक्ष संलग्न हुने उहाँले बताउनुभयो। 

नेपालबाट त्यस्ता देशमा कल गर्दा महँगो शुल्क लाग्ने भएकाले त्यसको फाइदा उठाउने उद्देश्य त्यस्ता व्यक्ति अथवा समूहको हुने उहाँले जानकारी दिनुभयो। विदेशमा कल गर्दा चार्ज बढी हुने भएकाले त्यसबाट आम्दानी गर्ने दाउ त्यस्तो समूहको हुन्छ, उहाँले भन्नुभयो। नेपालबाट जर्जिया कल गर्दा सामान्य कल प्रतिमिनेट ५० रुपियाँभन्दा बढी पर्छ। 

अन्तर्राष्ट्रिय प्रचलनमा यस्तो कललाई ‘वानगिरी’ भन्ने गरिन्छ। जुन शब्द जापानबाट सुरु भएको हो। त्यतिबेला ‘फ्रड’ कल जनाउन वानगिरी भन्ने शब्द प्रयोग गरिएको थियो। बारम्बार कल गर्ने र उनीहरूलाई कल गर्न बाध्य बनाउने उद्देश्यलाई जापानले वानगिरी नाम दिएको थियो। यस्ता कलबाट सुरक्षा जोखिम नभए पनि कल गर्न बाध्य बनाएर मोबाइल ब्यालेन्स सकिदिने नियत हुनसक्छ। यस्ता नम्बरमा कल गर्दा उताबाट आवाज नआउने अथवा कतिपय अवस्थामा नेपाली गीत नै बजाएर अलमल्याउने जस्ता काम पनि भइरहेका छन्। त्यतिन्जेल फोन गर्नेको ब्यालेन्स कम भइसकेको हुन्छ। 

नेपालमा वानगिरी नयाँ भने होइन। कोरोना सङ्क्रमणको बेला पनि धेरै नेपालीले यस्तो कलको सास्ती भोग्नुपरेको थियो। जसलाई प्राधिकरणले ‘वान रिङ स्क्याम’ भनेको थियो। वानगिरी प्रचलनमा आइसकेको र नेपालमा पनि यस्तो प्रवृत्ति दोहोरिन थालेपछि प्राधिकरणले वानगिरी कलबाट बच्न प्रयोगकर्तालाई आह्वान गर्दै आएको छ तर पनि नयाँ–नयाँ देशको कोडबाट यस्ता मिस्ड कल आउने प्रवृत्ति भने घटेको छैन। प्राधिकरणले यस्तो क्रम बढेपछि पछिल्लो पटक सेवा प्रदायकलाई सचेत गराएको रोयले जानकारी दिनुभयो। त्यस्तै प्राधिकरणले दुई दर्जनभन्दा बढी देशबाट आउने नयाँ कललाई ‘वाच लिस्ट’मा समेत राखेको छ तर त्यसमा जर्जिया भने समावेश छैन। 


जोगिने कसरी ? 

आफूसँग ‘सेभ’ नरहेको विदेशका त्यस्ता अपरिचित नम्बरबाट फोन सकेसम्म उठाउन नहुने प्राधिकरणको सुझाव छ। त्यस्तै यस्ता नम्बरबाट मिस्ड कल आएको देखेमा त्यसमा कल गर्नुहुँदैन। अपरिचित यस्ता नम्बरलाई सकेसम्म ‘ब्लक’ गर्ने बानी बसाल्नुपर्छ। यस्ता नम्बरबाट कल आउँदा तुरुन्त कल गर्नु भन्ने अथवा इमेलमा पनि सन्देश आउन सक्छन्, त्यसमा कुनै प्रतिक्रिया नजनाउनु बुद्धिमत्तापूर्ण हुन्छ। त्यस्तै ह्वाट्सएप अथवा भाइबरबाट पनि यस्ता नम्बरमा कल गर्नुहुँदैन। यस्ता नम्बर आईपी (इन्टरनेट प्रोटोकल) कल भएको अवस्थामा त्यसबाट फोन गर्नेलाई सुरक्षा जोखिम पनि हुन सक्छ।