कृष्णबहादुर धामी
खलङ्गा (दार्चुला), चैत गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना दार्चुलाबाट तेस्रो पटक निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा ठगुन्नाले १८ हजार ८९१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गर्नुभयो ।
विसं २०२५ मङ्सिर २२ गते दार्चुलाको खलङ्गा गाउँ पञ्चायत हालको महाकाली नगरपालिका–५, किम्तडीमा जन्मनुभएका ठगुन्नाले गाउँकै महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्नुभयो । भारतको धारचुलामा विज्ञान विषयमा उच्च मावि र स्नातक तह काठमाडौँको अस्कल क्याम्पसमा अध्ययन गर्नुभएको थियो । आमा कलावती ठगुन्ना र बुवा प्रेमसिंह ठगुन्नाका माइला छोरा ठगुन्नासँग राजनीति र शिक्षण पेसाको लामो अनुभव छ ।
२०४५ सालमा अनेरास्ववियु दार्चुला काठमाडौँ सम्पर्क मञ्चको अध्यक्ष भएर राजनीति सुरु गरेको उहाँले बताउनुभयो । २०४७ सालमा जिल्ला कमिटी सदस्य हुनुभएका ठगुन्नासँग २०५०, २०५३, २०६३, र २०६६ सालमा सम्पन्न जिल्ला अधिवेशनबाट चार कार्यकाल जिल्लामा पार्टी प्रमुखको जिम्मेवारी निर्वाह गरेको अनुभव छ ।
एमालेको नवौं, १० औँ र ११ औँ महाधिवेशनबाट लगातार केन्द्रीय कमिटीमा पुग्नुभएका ठगुन्ना हाल सुदूरपश्चिमको संयोजक हुनुहुन्छ । २०७० सालको संविधान सभा निर्वाचनमा संविधान सभा सदस्य र २०७४ सालमा प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएर उहाँले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको थियो । २०७०, २०७४ र २०८२ गरेर तीन पटक दार्चुलाबाट प्रतिनिधि सभामा जित हासिल गर्नुभएको छ । उहाँ २०५४ सालमा जिल्ला विकास समितिको सभापतिमा समेत निर्वाचित हुनुभएको थियो ।
यस पटक विजयी भएपछि उहाँले देशकै सामरिक महत्व बोकेको निर्माणाधीन दार्चुला तिङ्कर सडकलाई मुख्य प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजनका लागि सम्बन्धित मन्त्रालय, सदन र राष्ट्रिय योजना आयोगमा कुरा पु¥याउने बताउनुभएको छ । निर्माणाधीन गोकुलेश्वर विमानस्थल, अपिहिमाल गाउँपालिकालाई सडक सञ्जालसँग जोड्न प्राथमिकताका साथ काम गर्ने उहाँको भनाइ छ ।
ट्र्याक खोलाइएका सडकको स्तरोन्नति गर्न बजेट विनियोजन गर्र्न, महाकाली कोरिडोर अन्तर्गत पर्ने धनथला मोटरेबल पुल निर्माण गर्न, नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–तिङ्कर सडक निर्माणमा पर्याप्त बजेट र हाल प्राप्त रकमलाई रकमान्तर गरेर सडक निर्माणमा राख्न पहल गर्ने कुरा बताउनुभएको छ ।
उहाँले अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाललाई फोन गरेर रकमान्तर गरिदिन आग्रह गरेको बताउनुभयो । हाल नेपाली सेनाले निर्माण गरिरहेको सडकमा सडक निर्माणका लागि एक करोड तथा मेसिनरी औजार खरिदमा पाँच करोड रुपियाँ विनियोजन गरिएको छ । सो रकमलाई सडक निर्माणमा रकमान्तर गर्न आवश्यक देखिएको छ । चुनावमा निर्वाचित भएपछि पहिलो पटक निर्वाचन बहिष्कार गरेका नौगाड–१, नागुका जनतामाझ पुग्नुभएका प्रतिनिधि सभा सदस्य ठगुन्नाले २०८४ को निर्वाचन हुनुअघि नै नागु जोड्ने सडक निर्माणको सुरुवात गर्ने प्रतिबद्धता गर्नुभएको छ । उहाँले भन्नुभयो, “अब आउने स्थानीय निर्वाचनमा स्थानीयले चुनाव बहिष्कार गर्नु पर्दैन सडक निर्माणलगायतका माग पूरा हुन्छन् ।”
विकासको मूलधारबाट निकै पछि रहेको भन्दै यहाँको नागु र अपिहिमाल गाउँपालिका–३, झुस्कुका मतदाताले समेत निर्वाचन बहिष्कार गरेका थिए । उहाँले जिल्लामा अधुरा रहेका विकास निर्माणको कामलाई प्राथमिकताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो पार्टीको सङ्गठन बलियो भएका कारण कठिन परिस्थितिमा पनि निर्वाचन जित्न सफल भएको उहाँले बताउनुभयो ।