• २९ फागुन २०८२, शुक्रबार

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

blog

क्यानबेरा, फागुन २९ गते । मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध हुन सक्ने चिन्ताबिच अष्ट्रेलिया सरकारले आफ्नो आन्तरिक भण्डारबाट सात सय ६२ लाख लिटर पेट्रोल र डिजेल सार्वजनिक गर्ने घोषणा गरेको छ ।

अष्ट्रेलियाका ऊर्जामन्त्री क्रिस बोवेनले शुक्रबार सङ्घीय सरकारले पेट्रोल र डिजेलको न्यूनतम भण्डारण दायित्वको आधारभूत स्तरको २० प्रतिशतसम्म इन्धन सार्वजनिक गरिने बताउनुभएको छ । उहाँका अनुसार यस कदमले इन्धन आपूर्ति शृङ्खलामा देखिएको अवरोधलाई व्यवस्थापन गर्न सहयोग पुग्नेछ ।

सरकारले डिजेलको न्यूनतम राष्ट्रिय भण्डारण दायित्व २ दशमलव ७ अर्ब लिटरबाट घटाएर २ दशमलव २ अर्ब लिटरमा झार्ने र पेट्रोलको भण्डारण दायित्व एक अर्ब लिटरबाट घटाएर ७०० लाख लिटरमा ल्याउने निर्णय गरेको छ । उक्त निर्णय अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको अनुरोध अनुसार इन्धन भण्डार सार्वजनिक गर्ने कदमको रूपमा अष्ट्रेलियाको प्रतिक्रिया भएको जनाइएको छ ।

ऊर्जामन्त्री बोवेनका अनुसार यसले इन्धन कम्पनीलाई आफ्नो आपूर्ति शृङ्खला व्यवस्थापन गर्न थप लचिलोपन प्रदान गर्ने छ । उहाँले यो इन्धन तुरुन्तै बजारमा सार्वजनिक नगरिने पनि स्पष्ट पार्नुभयो । उहाँले अष्ट्रेलियामा हाल इन्धन आपूर्ति सुरक्षित रहेको र मध्यपूर्वको द्वन्द्वका बाबजुद जहाज निरन्तर रूपमा देशमा आइरहेको बताउनुभयो । 

तर द्वन्द्व लामो समयसम्म जारी रहेमा भविष्यमा आपूर्ति प्रभावित हुन सक्ने सम्भावना रहेको उनले उल्लेख गर्नुभयो । भण्डारणको अवस्था राम्रो भए पनि विशेष गरी अष्ट्रेलियाका ग्रामीण तथा क्षेत्रीय क्षेत्रमा माग अचानक अत्यधिक बढ्दा आपूर्ति शृङ्खलाले दबाब सामना गर्नुपरेको उहाँले बताउनुभयो । उहाँले नागरिकलाई अनावश्यक रूपमा इन्धन सञ्चय नगर्न आग्रह गर्दै अन्तर्राष्ट्रिय अवस्था गम्भीर भए पनि हाल अष्ट्रेलियाको इन्धन आपूर्ति सुरक्षित रहेको बताउनुभयो ।

यसअघि ऊर्जा मन्त्री बोवेनले सरकारले अस्थायीरूपमा इन्धन गुणस्तर मापदण्ड संशोधन गरी ६० दिनका लागि उच्च सल्फर स्तर भएको पेट्रोल प्रयोग गर्न अनुमति दिने घोषणा गरेका थिए । यस कदमले प्रतिमहिना करिब १०० लाख लिटर नयाँ पेट्रोल आपूर्ति उपलब्ध गराउन सहयोग पुग्ने बताइएको छ । रासस/सिन्ह्वा