• ७ जेठ २०८१, सोमबार

नेपालगञ्ज भन्सार कार्यालयद्वारा ८८ प्रतिशत राजस्व सङ्कलन

blog

सिराज खान 

नेपालगञ्ज, साउन ५ गते । पश्चिम नेपालमै सबैभन्दा बढी राजस्व सङ्कलन गर्दैआएको नेपालगञ्ज भन्सार कार्यालयले धेरै वर्षपछि पहिलो पटक लक्ष्यभन्दा निकै कम राजस्व सङ्कलन गरेको छ ।  

भर्खरै सम्पन्न भएको आर्थिक वर्ष २०७८–७९ मा लक्ष्यको ८८.५ प्रतिशत मात्रै राजस्व असुली गरेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । सरकारले बैंकिङ्ग कारोवारमा कडाइलगायत विभिन्न मालसामान आयातमा रोक लगाएका कारण गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व असुली हुन नसकेको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत नवकुल शर्माले बताउनुभयो । 

नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७८–७९ मा २५ अर्ब २१ करोड २६ लाख ६२ हजार रुपियाँ राजस्व असुली गर्ने लक्ष्य राखेकोमा २२ अर्ब ३१ करोड २६ लाख अर्थात ८८.५ प्रतिशत मात्र असुली गर्न सकेको उहाँले बताउनुभयो । 

यो राजस्व संकलन अघिल्लो आर्थिक वर्षभन्दा १ अर्ब ८ करोड ७९ लाख रुपियाँले बढी भए पनि अघिल्लो आर्थिक वर्ष २०७७–७८ को लक्ष्यभन्दा २ अर्ब ९० करोडले घटी भएको अधिकृत शर्माले बताउनुभयो । धेरै सामानको आयातमा रोक लगाइएपछि राजस्व सङ्कलनको लक्ष्य प्राप्त गर्न नसकिएको उहाँले बताउनुभयो । 

विगत १० बर्षको तथ्यांक हेर्ने हो भने नेपालगञ्ज भन्सारले आर्थिक बर्ष २०७६–७७ मा लक्ष्य भेटाउन सकेको थिएन भने अहिले भर्खर सकिएको आर्थिक वर्षमा पनि लक्ष्य पूरा हुन सकेन । 

२०७६–७७ मा नेपालगञ्ज भन्सारले निर्धारित लक्ष्यको ७६.२४ प्रतिशत लक्ष्य हासिल गरेको थियो । गत आर्थिक वर्ष २०७८–७९ मा विदेशी मुद्रा कमीका कारण सरकारले विभिन्न मालसामान आयात रोक्यो, त्यसको असरले पनि भन्सारले राजश्व भेटाउन नसकेको कार्यालयको बुझाइ छ ।  

उद्योगी व्यवसायीले दैनिक लाखौं रुपियाँको मालसामानको भन्सार छली हुनेगरेकाले पनि भन्सारले राजस्व हासिल गर्न नसकेको बताएका छन् । चालु आर्थिक बर्ष २०७९–८० का लागि नेपालगञ्ज भन्सार कार्यालयलाई अघिल्लो आ.व. २०७८–७९ मा भन्दा चार अर्ब बढी लक्ष्य दिएको छ । गत आ.व. मा २५ अर्ब राजस्व असुलीमा असफल नेपालगञ्ज भन्सारलाई थप चार अर्ब बढी थपेर चालु आ.व.का लागि लक्ष्य निर्धारण गरिएको हो ।