बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), फागुन २७ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका ४४ उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ५५ जनामध्ये ४४ उम्मेदवारले कुल खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा धरौटी फिर्ता नपाउने भएका हुन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट १९ उम्मेदवारले प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । सो निर्वाचन क्षेत्रबाट खसेको ६० हजार ५८७ मतमध्ये ५७ हजार ५१ मत सदर भएको थियो । सो निर्वाचन क्षेत्रबाट खसेको ६० हजार ५८७ मतमध्ये ५७ हजार ५१ मत सदर भएको थियो । सदर मतमध्ये चार उम्मेदवारले मात्रै १० प्रतिशत मत कटाएका छन् भने १५जनाको जमानत जफत भएको छ ।
निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जम्मा गरेको १० हजार रुपियाँ जफत गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले बताउनुभयो ।
निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका १९ मध्ये १५ उम्मेदवारको धरौटी जफत भएको छ । आवश्यक मत नपुगेकाको जमानत जफत गरिएको निर्वाचन कार्यालयले बताएको छ । निर्वाचन क्षेत्र नम्बर ३ का १७ उम्मेदवारमध्ये १४ जनाको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्र्यालयले जनाएको छ ।
क्षेत्र नम्बर ३ मा सदर मत ५३ हजार ५४६ को १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत गरिएको निर्वाचन कार्यालयका प्रमुख जोशीले बताउनुभयो । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ एक लाख ८४ हजार ३४१ मत खसेकामा एक लाख ७१ हजार ७१४ मत सदर भएको थियो ।
बैतडीमा सातको जमानत जफत
वासुलिङ समाचारदाताका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ ।
जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालका अनुसार राप्रपाका भुपेनबहादुर चन्द, नेकपा (माओवादी) का रामबहादुर कुँवर, जनता समाजवादी पार्टी नेपालका आनसिंह भण्डारीको जमानत जफत भएको छ । नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, आमजनता पार्टीका बिसनसिंह बोहोरा, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय तथा स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तको जमानत जफत भएको हो ।
बैतडीमा ७२ हजार ८४३ मत खसेको थियो । तीमध्ये ६७ हजार ७३० मत सदर भएको सूचना अधिकारी दयालले जानकारी दिनुभयो ।