नवराज नेपाली
बागलुङ (गलकोट) फागुन २७ गते । नेकपा (एमाले) बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिनुभएको छ ।
एमाले उम्मेदवारलाई जिताउन नसकेको र एमालेको राजनीतिमा उत्साह ल्याउन नसकेको आत्माआलोचना गर्दै उहाँले नगर कमिटिका उपाध्यक्षलाई सम्बोधन गरेर औपचारिक रूपमा राजीनामा पत्र पेस गर्नुभएको हो ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवारी हिराबहादुर केसीलाई जिताउन नसकेको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको बताउनुभयो ।
उहाँले बागलुङ नगरपालिकाका कार्यकर्ताहरुलाई एमालेप्रति उत्साहित बनाउन नसकिएको र आम मतदाताको माग बुझ्न ढिलो भएको प्रति आत्माआलोचना गर्दै नैतिकताको आधारमा नगर अध्यक्षको पदबाट राजीनामा दिएको बताउनुभयो । शर्माले पार्टी अब पुर्नगठन गर्न अवश्यक रहेकाले सुरुवात आफूबाट गरेको बताउनुभयो । शर्माले पदमा बसेर पार्टी सुध्रन नसक्ने भन्दै जिम्मेबारीबाट अलग भएको बताउनुभयो ।