गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २७ गते । नेपालको छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सानदार जित हासिल गर्न सफल भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिनुभएको छ । उहाँले टेलिफोन गरेरै उहाँहरूलाई जितका लागि बधाई दिनुभएको हो ।
टेलिफोन कुराकानीका बारेमा सामाजिक सञ्जालमार्फत अवगत गराउँदै भारतका प्रधानमन्त्री मोदीले लामिछाने र शाहसँग सौहार्दपूर्ण कुराकानी भएको जानकारी दिनुभयो ।
उहाँहरूको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको सानदार सफलताका लागि दुवै नेतालाई बधाई दिएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “उहाँहरूको नेतृत्वमा बन्ने आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबिचको आपसी समृद्धि, प्रगति र हितका लागि मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ ।”
प्रधानमन्त्री मोदीले दुवै देशको संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने छ भन्ने कुरामा आफू विश्वस्त रहेको उल्लेख गर्नुभएको छ ।
टेलिफोनवार्तापछि रास्वपाका सभापति रवि लामिछानेले नेपाली जनताको लोकतान्त्रिक जनादेशलाई मान्यता दिएकोमा मोदीलाई धन्यवाद व्यक्त गर्नुएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रास्वपाको नेतृत्वमा बन्ने सरकार पारस्परिक सम्मान र साझा समृद्धिमा निर्मित सम्बन्धलाई प्रवर्धन गर्न समर्पित रहने औँल्याउनुभएको छ । रास्वपाले विकास कूटनीतिलाई प्राथमिकता दिने पनि लामिछानेले प्रस्ट पार्नुभएको छ ।
मोदीसँगको कुराकानीपछि सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, “हामी भारतसँगको साझेदारीका लागि तत्पर छौँ, जसले कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापारमा सहयोगमार्फत् नयाँ उचाइहरू हासिल गर्ने छ, साथै दुवै देशका जनताको समृद्ध भविष्य सुनिश्चित गर्ने छ ।”
यस्तै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले पनि भारतका प्रधानमन्त्रीको बधाईको जवाफ फर्काउनुभएको छ । उहाँले भारतका प्रधानमन्त्रीको फेसबुक पेजमा बधाई लेख्नुभएको स्टाटसको कमेन्टमार्फत जवाफ फर्काउनुभएको हो । उहाँले भन्नुभएको छ, “नेपाल–भारतबिच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु ।” साथै शाहले लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
मित्रराष्ट्रको शुभकामना
यसैबिच नेपालमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन सफल रूपमा सम्पन्न भएकोमा विभिन्न मित्रराष्ट्र मुलुकहरूले शुभकामना दिने क्रम जारी रहेको छ । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा जापान सरकारले स्वागत गरेको छ । जापान सरकारका तर्फबाट नेपालस्थित जापानी दूतावासले वक्तव्य जारी गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा स्वागत गरेको हो ।
निर्वाचनका क्रममा जापान सरकारका तर्फबाट जापानका संसदीय उपविदेशमन्त्री सिमादा तोमोआकीको नेतृत्वमा एक निर्वाचन पर्यवेक्षक मिसन पठाएको स्मरण गर्दै स्थलगत अनुगमनमार्फत निर्वाचनका गतिविधिहरूको अवलोकन गरेको दूतावासले जनाएको छ ।
त्यस्तै पाकिस्तान सरकारले पनि आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ ।
काठमाडौँस्थित पाकिस्तानी दूतावासले जनाए अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति बधाई दिनुभएको हो । नेपालसँगको भ्रातृत्वमैत्री सम्बन्धलाई अत्यन्त महìवका साथ लिएको उल्लेख गर्दै बधाई सन्देशमा उहाँले दुई देशबिचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास दिलाउनुभएको छ ।
सो क्रममा आगमी दिनमा बन्ने नयाँ सरकारसँग टिकटतम रूपमा सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्रहरू विस्तार गर्ने इच्छा पाकिस्तान सरकारका तर्फबाहट जाहेर गर्नुभएको छ ।