• १६ चैत २०८०, शुक्रबार

ताप्लेजुङबाट ७२ करोड बजेट रकम फ्रिज

blog

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङबाट गत आर्थिक वर्षमासाढे बहत्तर करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको अर्थात फ्रिज भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले प्रारम्भिक वित्तीय अवस्था विश्लेषण गर्दै आर्थिक वर्ष २०७८/७९ मा कुल ७२ करोड ६१ लाख ७२ हजार १६५ रुपियाँ रकम फ्रिज भएको जानकारी दिएको छ । कोष नियन्त्रक मदनकुमार पौडेलले पुँजीगततर्फ ५९ करोड २६ लाख १६ हजार ५०४ रुपियाँ फ्रिज भएको प्रारम्भिक तथ्याङ्क रहेको बताउनुभयो । 

यस्तै चालूतर्फ १३ करोड ३५ लाख ५५ हजार ६६१ रुपियाँ रकम खर्च हुन नसकेको अर्थात फ्रिज भएको कोष नियन्त्रक पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार सङ्घ र प्रदेश दुवैतर्फ आव २०७८/७९ मा चार अर्ब ८१ करोड ८८ लाख ५६ हजार ४० रुपियाँ चालूअन्तर्गतको बजेट रहेको थियो । उक्त बजेटमध्ये चार अर्ब ६८ करोड ५३ लाख ३७९ रुपियाँ खर्च भएको छ । 

यस्तै पुँजीगततर्फ प्रदेशबाट १९ करोड तीन लाख २३ हजार र सङ्घबाट एक अर्ब पाँच करोड ८८ लाख २२ हजार ५०० रुपियाँ गरी कुल एक अर्ब २४ करोड ९१ लाख ४५ हजार ५०० रुपियाँ बिनियोजन भएको थियो । उक्त प्रदेश र सङ्घ दुवैतर्फको बजेटमध्ये ६५ करोड ६५ लाख २८ हजार ९९६ रुपियाँ मात्र खर्च भएको कोलेनिकाले जनाएको छ । 

कोष नियन्त्रक पौडेलले गत आवमा कार्यान्वयन भएको जिल्लाको बजेटको यकिन विवरण आउनलाई भने अझै केही समय लाग्ने बताउनुभयो । नयाँ आर्थिक वर्ष सुरु भइसके पनि १५ दिनसम्म रकमको चेक जारी भएपछि कारोबार गर्न सकिने प्रावधान रहेकाले यकिन विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहहरुको विवरण आउन बाँकी रहेको छ । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।