कोकिला ढकाल
इलाम, फागुन २४ गते । इलाम–२ बाट निर्वाचित नेकपा (एमाले) का सुहाङ नेम्वाङले इलाम–२ का मतदातालाई धन्यवाद दिँदै एक–एक मतको मुुल्याङ्कन हुने गरेर काम गर्ने बताउनुुभएको छ ।
आज सदरमुुकामस्थित इलाम चोकबजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै नेम्वाङले इलाम–२ मा तीन वर्षमा तीन पटक चुनाव लड्दै गर्दा हरेक निर्वाचनमा इलामले दिएको मतको उच्च सम्मान गर्दै जिल्लाको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
२०७९ सालको निर्वाचनमा बुुवा सुुवास लड्दै गर्दा निकै कठिन भएको स्मरण गर्दै नेम्वाङले २०८१ को उपनिर्वाचनमा विश्वास गरेर इलामले दिएको मतलाई संसदको १६ महिने यात्रामा नास हुन नदिएको बताउनुभयो ।
अहिले पनि इलामे नागरिकले दिएको विश्वास खेर जान नदिने बताउनुुभयो । ‘यस पटक नम्बरमा सानो हुँला तर संसदमा गएर एमालेको अभिमत र इलामले दिएको एक–एक मतलाई गर्वका साथ राख्ने छुु’ नेम्वाङले भन्नुुभयो ‘तपाईंहरूले जहाँ गएर पनि मैले सुुहाङलाई भोट हालें भन्नुुभयो भने त्यो कुराले तपाईंको शीर उच्च हुने छ । शीर उच्च हुनेगरी काम गर्ने छुु ।’
देशलाई अप्ठ्यारो पर्दा होस् वा सरकारले नराम्रो कदम चाल्दा आफूले त्यस्तो कदम सच्याउन हरेक पटक आग्रह गरिरहेको स्मरण गर्दै नेम्वाङले यो जितपछि पनि देश र जनताका पक्षमा सधैं दह्रो भएर उभिने अठोट गर्नुभयो ।
नेम्वाङले विपदमा परेको इलामको लागि अधुुरा काम पूरा गर्ने र पुुनर्निमाणका लागि अगाडि बढ्ने दायित्व आफ्नो काँधमा रहेको बताउनुुभयो । नेम्वाङ २२ हजार चार सय २६ मत प्राप्त गरी विजयी हुनुुभएको हो ।