• १ जेठ २०८१, मङ्गलबार

‘१९औं एसियाडमा सुखद नतिजाको अपेक्षा’

blog

पुनर्ताजगी कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज । तस्बिर : राखेप

काठमाडौं, साउन ५ गते । नेपालले चीनका हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा सुखद नतिजा ल्याउने अपेक्षा गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बताउनुभएको छ । 

एसियाडका लागि पहिलो चरणको प्रशिक्षण पूरा गरेका नेपाली खेलाडीहरुका लागि बुधबार राति आयोजना गरिएको पुनर्ताजगी कार्यक्रममा बोल्दै मन्त्री गहतराजले सुखद नतिजाका लागि सरकारले हाल विनियोजित तयारी बजेटलाई बढाउने पनि बताउनुभयो । 

उहाँले सिंहदरवारले खेलकुद नवुझेको भन्दै खेल एक विज्ञान भएको र स्कुल स्तरबाटनै यसको विकास गर्न सिंहदरवारलाई बुझाउनु पर्ने बताउनुभयो । उहाँले खेलकुदको पूर्वाधार निर्माण, खेलाडी उत्पादन तथा खेलाडी र प्रशिक्षकको सम्मान गर्न पुरस्कृत गर्न कानूनी प्रावधान बनाएर अगाडि बढ्ने पनि बताउनुभयो । 

मन्त्री गहतराजले एसियन गेम्समा स्वर्ण पदक विजेतालाई ३२ लाख ५० हजार, रजत विजेतालाई १९ लाख ५० हजार र कांस्य पदक विजेतालाई १३ लाख रुपियाँ प्राप्त हुनेगरि कानुन बनाइने र अन्य प्रतियोगितामा पनि सोही अनुरुपको पुरस्कारको ब्यवस्था गरिन लागिएको जानकारी दिनुभयो । 

यसैगरी संस्कृति पर्यटन तथा नागरिक मन्त्री जीवनराम श्रेष्ठले एसियाली खेलकुदमा हालसम्म अपेक्षित नतिजा नभएको भन्दै अहिलेको प्रशिक्षण सुखद नतिजा तर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोईरालाले खेलाडीको हौसला बढाउन पुनतार्जगी कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एसियाडमा नेपाली खेलाडीले सोचेको परिणाम ल्याउने विश्वास ब्यक्त गर्नुभयो । 

राखेप सदस्य सचिव टंकलाल घिसिङले एसियाडका लागि अझै एकबर्ष समय रहेकोले प्रशिक्षण बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्न्ुभयो, ‘एसियाडका लागि खेलाडी छनोट प्रक्रिया यो नै अन्तिम होइन । विभिन्न प्रतियागितालाई आधार मानेर खेलाडीको प्रदर्शनका आधारमा एसियाडमा पठाइनेछ ।’

नेपालले एसियाडमा २३ खेलमा सहभागिता जनाउने निर्णय यस अघि नै गरिसकेको छ । सोही बमोजिम राखेपले एसियाडका लागि नेपाली खेलाडीको दोस्रो चरणको छनोट प्रतियोगिता सम्पन्न गरेको हो । १९औं एसियाड सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनको हाङझावमा हुँदैछ ।

एसियाडमा नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबलटेनिसमा भाग लिने निर्णय गरेको छ । एसियाडमा नियमित सहभागिता जनाउँदै आएको नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन ।