• २३ फागुन २०८२, शनिबार

नैरोबीमा वर्षा र बाढीः ८ जनाको मृत्यु

blog

नैरोबी, फागुन २३ गते । केन्याको राजधानी नैरोबीमा रातभर परेको भारी वर्षापछि आएको बाढीले व्यापक अव्यवस्था सिर्जना गरेको छ । सडक डुबानमा परेपछि धेरै सवारी साधन फसेका छन्, उडान अवरुद्ध भएका छन् र उद्धारका लागि सेना परिचालन गरिएको छ । यस घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।

नैरोबीका प्रहरी प्रमुख जर्ज सेडाका अनुसार खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ । उहाँका अनुसार छ जनाको बाढीमा डुबेर मृत्यु भएको हो भने अन्य दुई जनाको करेन्ट लागेर ज्यान गएको हो । भारी वर्षाका कारण सडकमा पानी भरिएपछि ठुलो सङ्ख्यामा सवारी साधन क्षतिग्रस्त भएका छन् । प्रहरी प्रमुख सेडाले १०० भन्दा बढी सवारी साधन क्षतिग्रस्त भएको र केही सडक किनार तथा पार्किङ क्षेत्रमा पल्टिएको जानकारी दिनुभयो ।

यसैबिच केन्या एयरवेजले नैरोबीमा उडान सञ्चालन प्रभावित भएको जनाएको छ । कम्पनीका अनुसार केही उडान तटीय सहर मोम्बासातर्फ मोडिएको छ र विमानस्थलको सञ्चालन घण्टौँसम्म प्रभावित रहने सम्भावना रहेको छ । आपतकालीन सेवालाई सहयोग गर्न सेना पनि परिचालन गरिएको छ । उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सैन्य उद्धार टोली रातारात तैनाथ गरिएको हो ।

स्थानीय टोल रोड अपरेटरले पनि सवारी आवागमन सहज बनाउन एलिभेटेड सडक प्रयोग गर्ने शुल्क अस्थायीरूपमा माफ गरेको जनाएको छ । शुक्रबारदेखि सुरु भएको वर्षा रातभर जारी रहँदा धेरै स्थानमा सडक पूरै डुबानमा परेका थिए । केही स्थानमा सवारी चालक पानीले भरिएका सडक पार गर्न बाध्य भएका थिए । कतिपय क्षेत्रमा मानिस कम्मरसम्मको पानी पार गर्दै सुरक्षित स्थानतर्फ गएका दृश्य देखिएका छन् ।

सामाजिक सञ्जालमा डुबानमा परेका घर र पल्टिएका सवारी साधनहरूको भिडियो पनि व्यापकरूपमा साझा भएका छन् । यसले नैरोबीमा बाढीको असर कति गम्भीर थियो भन्ने देखाएको छ । केन्या रेडक्रसले पनि उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ । रेडक्रसका महासचिव अहमद इद्रिसका अनुसार खोज तथा उद्धार टोलीले फसेका मानिसलाई सहयोग पुर्‍याउन निरन्तर प्रयास गरिरहेका छन् । 

तर ट्राफिक जाम र सडकको अवस्थाका कारण उद्धार टोलीहरूलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । इद्रिसले सामाजिक सञ्जाल एक्समार्फत ट्राफिक र क्षतिग्रस्त सडकका कारण उद्धार प्रयास सीमित भएको उल्लेख गर्नुभएको छ । तथापि आवश्यक परेका मानिससम्म पुग्न सक्दो प्रयास भइरहेको उहाँले बताउनुभयो । केन्याका सार्वजनिक सेवा मन्त्री जेफ्री रुकुले राष्ट्रिय स्तरमा विपद् तयारी, उद्धार र पुनःस्थापना प्रयास समन्वय भइरहेको जानकारी दिनुभयो ।

उहाँले नागरिकलाई सतर्क रहन र व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्नुभयो । यस घटनापछि केही स्थानीय बासिन्दाले सहरको जल निकासी प्रणाली कमजोर भएको भन्दै आलोचना गरेका छन् । उनीहरूले वर्षायाम सुरु हुनुअघि नै प्रभावकारी निकास प्रणाली तयार गर्न सहरका अधिकारीले पर्याप्त तयारी नगरेको आरोप लगाए ।

नैरोबीकी एक बासिन्दा आइशा बाजाबेरले सामाजिक सञ्जालमा लेख्दै सहर फेरि बाढीमा डुबेको उल्लेख गर्नुभयो । उहाँले अधिकारीहरूले जल निकासी प्रणालीको अभावलाई कति समयसम्म बेवास्ता गर्ने भनी प्रश्न उठाउनुभयो । केन्यामा फेब्रुअरीको अन्त्यदेखि वर्षा सुरु भएको छ, जसले देशमा लामो वर्षायामको सुरुआत सङ्केत गरेको मानिन्छ । अघिल्ला वर्षमा पनि यस मौसममा बाढी, पहिरो र भूक्षय जस्ता घटना बारम्बार देखिएका छन् । गत वर्षको वर्षायाममा यस्तै विपदका कारण सयौँ मानिसको ज्यान गएको थियो भने हजारौँ मानिस विस्थापित भएका थिए । रासस/एपी