भक्तपुर, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको बिहीबार सम्पन्न मतदानपछि मत परिणाम आउने क्रममा भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्रीले अग्रता कायमै राख्नुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार रास्वपाका राजीव खत्रीले ७ हजार २ मत प्राप्त गर्दा नेकपा (एमाले) का महेश बस्नेतले २ हजार ५३८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेसका कविर राणाले १ हजार १५८ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ । नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले २२७ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापाले २०२ मत प्राप्त गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका जितराम लामाले १६९ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी भीम विसीले मत परिणाम आउने क्रम जारी रहेको भन्दै शनिबार दिउँसोसम्ममा अन्तिम परिणाम आइसक्ने सम्भावना रहेको बताउनुभयो ।
भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा कुल ९८ हजार २५६ मतदाता रहेकामा ७२ हजार १२६ मत खसेको थियो । उक्त क्षेत्रमा सूर्यविनायक र मध्यपुर थिमी नगरपालिका पर्दछन् । अहिलेसम्म सूर्यविनायक नगरपालिकाका वडा नं. ७ र १ तथा मध्यपुर थिमी नगरपालिकाका वडा नं. १ र २ को मतगणना सकिएको जनाइएको छ ।