• २२ फागुन २०८२, शुक्रबार

पाँचथरमा मतगणना सुरु

blog

पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका-१, खाँद्रुङ मतदान केन्द्रको मतपेटिका खोलेर मतगणना सुरु गर्दै गणक। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पाँचथरमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-१, खाँद्रुङ मतदान केन्द्रका मतपेटिका खोलेर मतगणना सुरु गरिएको हो । यहाँ ९६७ मत खसेको बताइएको छ ।

बिहीबार सम्पन्न निर्वाचनपछि मतपेटिका सङ्कलन गरी राति १२ बजेसम्म सुरक्षित रूपमा मतगणना केन्द्रमा ल्याइएको थियो । शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि दिउँसो १:३० बजेदेखि गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिनुभयो ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना प्रक्रिया पनि व्यवस्थित रूपमा अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृत मास्केले बताउनुभयो । पाँचथरमा १५ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । यहाँ रहेका १०२ मतदान स्थलका १६९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो ।

जिल्लामा कुल १ लाख ४३ हजार ४०८ मतदाता रहेकामा ४९.६३ प्रतिशत मत खसेको छ । जसअनुसार ७१ हजार १७० मत खसेको तथ्याङ्क प्राप्त भएको छ । मतदान गर्नेमा महिलाको तुलनामा पुरुषको सङ्ख्या बढी देखिएको छ । यहाँ ३३ हजार ६१५ महिला र ३७ हजार ५५५ पुरुषले मतदान गरेका थिए ।