• १२ असोज २०८१, शनिबार

ललितपुर महानगरको बजेट छ अर्ब ३५ करोड

blog

तस्बिर : कबिता थापा

काठमाडौं, साउन ४ गते । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० लाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने भएको छ । बुधबार ललितपुर महानगरपालिकाको नगरसभाबाट चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको सम्बन्धमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमार्फत् यस्तो जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले चालु आर्थिक वर्ष सुशासन वर्षको रुपमा मनाइने बताउनुभयो । उहाँले सुशासन वर्ष महानगरले गर्ने खर्च कटौती गरेर, बेरुजु उल्लेख्य मात्रामा घटाएर, पारदर्शिता प्रवद्र्धन गरेर, वडालाई विकासको केन्द्रको रुपमा विकसित गरेर र कार्यसम्पादन सम्झौता गरेर सुशासन वर्ष मनाउन लागिएको बताउनुभयो ।

प्रमुख महर्जनले विपद् व्यवस्थापनमा लगानी वृद्धि गरी दमकल खरिद गर्ने योजना बनाएको पनि बताउनुभयो । वारुण यन्त्रको क्षमता अभिवृद्धि गर्ने, विपद्सम्बन्धी सम्पूर्ण जनशक्ति, स्रोत, साधन, सामग्री, सूचना एउटै छातामुनिबाट परिचालन गर्ने, रिङरोड बाहिरका वडाहरूमा फोहर सङ्कलनमा आधुनिक उपकरणको प्रयोग तथा परिचालन गर्ने योजना बनाएको बताउनुभयो ।

महानगरपालिकाले महानगरका सबै वडामा सम्भव भएसम्म आधुनिक अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गर्ने प्रमुख महर्जनको भनाइ छ । आधुनिक र प्रविधिको विकास हुँदै गएकाले महानरपालिकाको राजश्व सङ्कलन प्रक्रियालाई अनलाइन सिस्टममा आवद्ध गरिने छ ।

प्रमुख महर्जनले मेडिकल टिम बनाएर प्रत्येक घरघरमा गएर ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गर्ने गरी ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रम यो वर्ष पनि निरन्तरता दिने बताउनुभयो ।

त्यस्तै, महानगरले शैक्षिक क्रियाकलापलाई एकरुपता ल्याएर कक्षा ३ सम्म नेपाल भाषाको पाठ्यक्रम लागू गर्ने छ । खानेपानी व्यवस्थामा विशेष जोड दिँदै सम्भाव्यता स्थानमा वाटर एटिएमको व्यवस्था गर्ने छ । यसैगरी, छिमेकी नगरपालिकाहरुको परियोजनामा सहयोग गर्ने योजना बनाएको पनि उहाँले बताउनुभयो ।

ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० का लागि छ अर्ब ३५ करोड ३५ लाख तीन हजार रुपियाँको बजेट प्रस्तुत गरेको थियो । जसमध्ये चालु खर्चतर्फ दुई अर्ब २६ करोड ६१ लाख ५४ हजार तथा पुँजीगततर्फ चार अर्ब आठ करोड ७३ लाख ४९ हजार रुपियाँ विनियोजन गरिएको छ ।

महानगरपालिको छ अर्ब ३५ करोड ३५ लाख तीन हजार रुपियाँको प्रस्तुत बजेटमा आन्तरिक स्रोत तीन अर्ब ९६ करोड, सङ्घीय सशर्त अनुदान ६५ करोड ९४ लाख, प्रदेश सशर्त अनुदान २९ करोड ९८ लाख चार हजार र अन्तर सरकारी वित्तीय हस्तान्तरण एक अर्ब ७० करोड ४१ लाख १९ हजार रुपियाँ रहेको छ । चालु खर्चतर्फको ४५ करोड रुपियाँ ललितपुर महानगरपालिका भित्रका ७३ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप वार्षिक एकमुष्ठ रुपमा १० हजारका दरले दिनको लागि छुट्याएको छ ।