• १४ असार २०८१, शुक्रबार

नवौं राष्ट्रिय खेलकुदका लागि उपसमितिहरु तय

blog

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे जानकारी दिँदै राखेप सदस्य सचिव टंकलाल घिसिङ । तस्बिर : राखेप

काठमाडौं, साउन ४ गते । गण्डकी प्रदेशको राजधानी पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न १४ उपसमिति तय गरेको छ ।

नवौंको कायकारी समितिले प्रतियोगिता सञ्चालनका लागि उपसमिति, त्यसका संयोजक र सचिवहरु तोकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो । १४ उपसमितिमध्ये १२ वटा उपसिमितिको संयोजक र सचिवको नाम सार्वजनिक गरिएको छ । कार्यकारी समितिका संयोजक समेत रहनुभएका घिसिङले उपसिमतिको ‘टिओआर’ तोकिएको तथा बाँकी दुईवटा अनुसन्धान र सुरक्षा समिति संयोजक र सचिव छिट्टै तोकिने जानकारी पनि दिनुभयो । 

नवौंको लागि गठित समारोह उपसमितिको संयोजकमा एकेन्द्र कुँवर, सचिवमा शारङ्गिन निरौला, प्रविधिक उपसमितिको संयोजकमा हिमालराज दाहाल, सचिवमा प्रचण्ड शर्मा, खेलस्थल व्यवस्थापन उपसमितिको संयोजकमा राजेश गुरुङ, सचिवमा कृष्णप्रसाद तिमल्सिना, बसोबास व्यवस्थापन उपसमितिको संयोजकमा राजकुमार थापा र सचिवमा चन्द्रकुमार राई हुनुहुन्छ ।

यसैगरी अनुशासन उपसमितिको संयोजकमा पेमा लामा र सचिवमा नारायणराज अर्याल, स्वास्थ्य उपसमितिको संयोजकमा डा.बुलन्द थापा र सचिवमा डा.ज्ञानेद्र विक्रम शाह, यातायात व्यवस्था उपसमितिको संयोजकमा प्रकाश कुसारी र सचिवमा देवराज कटुवाल, प्रचारप्रसार उपसमितिको संयोजकमा दिपेन्द्र विष्ट र सचिवमा खुसराज दाहाल, खेल सामाग्री तथा पोशाक व्यवस्थापन उपसमितिको संयोजकमा अन्जन धमला र सचिवमा सुजन खतिवडा, स्रोत परिचालन उपसमितिको संयोजकमा सूर्य भण्डारी र सचिवमा सरोज कुमार पोखरेल, स्वयंसेवक उपसमितिको संयोजकमा जनक बर्तौला र सचिवमा लिलाराम बस्नेत तथा एन्डीडोपिङ उपसमितिको संयोजकमा नमिसमान प्रधान र सचिवमा दोब्रे तामाङ रहनुभएको छ । 

नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागय र गैर आवासीय नेपाली संघ (एनआरएनए) गरि ११ टोलीको सहभागिता रहने छ । नवौंका लागि यसअघिनै ३६ खेलमा प्रतिस्पर्धा हुने निर्णय भईसकेको छ । जसमा पौडी र सुटिङका खेल काठमाडौंमा हुने बताईएको छ । 

राखेपले नवौंको नारा, लोगो र मस्कट समेत यसअघिनै सार्वजनिक गरकेो छ । नवौंमा टिम च्याम्पियन टोलीलाई १० लाख रुपियाँ बराबरको रनिङ ट्रफी प्रदान गरिने जानकारी पनि सदस्य सचिव घिसिङले दिनुभयो ।