• १२ असोज २०८१, शनिबार

पुबुदुद्वारा प्रशिक्षक पदबाट राजीनामा

blog

राजीनामा घोषणा गर्दै प्रशिक्षक पुवुदु दसानायके । तस्बिर : गोरखापत्र

काठमाडौं, साउन ४ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पदबाट राजीनामा दिनुभएको छ । बुधबार पत्रकार सम्मेलन गरेर दसानायकेले प्रशिक्षकबाट राजीनामाको घोषणा गर्नुभएको हो । पुबुदुले नेपाली टोलीको प्रशिक्षकका लागि गत मङ्सिरमा मात्र दुई वर्षे कार्यकालका लागि सम्झौता गर्नुभएको थियो ।

पुवुदुको पछिल्लो प्रशिक्षणमा नेपाली क्रिकेट टोलीले खराब प्रदर्शन गरेपछि उहाँको आलोचना भइरहेको थियो । तर, पत्रकार सम्मेलनमा उहाँले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताउनुभएको छ । पुबुदुले एक हाप्ताअघि नै नेपाल क्रिकेट सङ्घ (क्यान) लाई इमेल मार्फत राजीनामा बुझाएको जानकारी दिनुभयो ।

श्रीलङ्काली मूलका क्यानेडियन प्रशिक्षक पुबुदुले राजीनामाको विषयलाई आफ्नो जीवनकै कठिन निर्णय भएको पनि बताउनुभएको छ । ‘यो निर्णय गर्न मलाई साह्रै कठिन रह्यो । मैले व्यक्तिगत कारणले राजीनामा दिएको हो । बेलैमा निर्णय नगर्दा पछि पछुताउनुपर्छ भन्ने लाग्यो,’ पुबुदुले भन्नुभयो । 

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा भएको त्रिदेशीय क्रिकेट सिरिज खेलेर नेपाली टोली मङ्गलबार मात्र स्वदेश फर्किएको थियो । स्कटल्यान्ड र यसअघि अमेरिकाको सिरिजमा समेत नेपाली टोलीले बिर्सन लायक प्रदर्शन गरेको थियो । कमजोर ब्याटिङका कारण पछिल्लो समय नेपाली क्रिकेटले सोचेअनुरुप नतिजा निकाल्न सकेको छैन ।

स्कटल्यान्डमा नेपाल नामिबियासँग दुवै खेलमा पराजित भएको थियो । नेपाल नामिबियासँगको पहिलो खेलमा ४० र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो । यस्तै, स्कटल्यान्डलाई पहिलो खेलमा पाँच विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको थियो । पुवुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोलीको प्रशिक्षक हुनुहुन्थ्यो ।

उहाँकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । नेपाललाई डिभिजन पाँचदेखि एक दिवसीयसम्म  पुर्‍याउन पनि पुवुदुको महत्वपूर्ण भूमिका थियो । पुवुदुले पछिल्लो पटक नेपाली टोली सम्हाल्दा टोलीका खेलाडीमा विभाजन भएकाे थियो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को व्यवस्थापन र खेलाडीबीच विवाद हुँदै टोलीका कप्तान ज्ञानेन्द्र मल्ल लगायत खेलाडीले विर्दोह गर्नुभएको थियो । यसअघि नै नियमित कप्तान पारस खड्काले राजीनामा दिनुभएको थियो । त्यसैले दोस्रो कार्यकाल प्रशिक्षक पुबुदुका लागि त्यति सहज हुन भने सकेन ।