फाडिन्द्र अधिकारी
लेखनाथ, फागुन २१ गते । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा बिहीबार भएको मतदानमा करिब ६० प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख नारायण ढकालले जिल्लामा ६० प्रतिशत आसपास मत खसेको भए पनि यकिन विवरण आउन समय लाग्ने उल्लेख गर्नुभयो ।
“कास्कीमा ६० प्रतिशत हाराहारी मत खसेको छ, केही केन्द्रबाट मतसङ्ख्या अपडेट नगराई मतपेटिका गणनास्थलतर्फ ल्याउन थालिएकाले यकीन विवरण आउन केही समय लाग्ने देखियो,” उहाँले भन्नुभयो । कास्की क्षेत्र नम्बर १ मा एक लाख १६ हजार आठ सय ७८ मतदाता छन् भने क्षेत्र नम्बर २ मा ८४ हजार एक सय ३४ मतदाता कायम भएका छन् ।
क्षेत्र नम्बर ३ मा एक लाख सात हजार पाँच सय ६० जना मतदाता छन् । कास्कीमा एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र गरी तीन सय ६५ मतदान केन्द्र छन् । निर्वाचनका लागि कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा गरी दुई हजार एक सय ८४ कर्मचारी र एक हजार ९२ स्वयम्सेवक परिचालन गरिएको थियो ।
जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन् । जिल्लामा एक हजार ५७ नेपाल प्रहरी र दुई हजार आठ जना निर्वाचन प्रहरी खटाइएको थियो ।
यस्तै, कास्की मतगणना बिहीबारै सुरु गर्ने तयारी छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा छुट्टाछुट्टै स्थानमा मत गन्ने तयारी छ । कास्की क्षेत्र नं १ को पोखरा महानगरपालिका वडा नं १२ को कार्यालयमा मतगणना हुनेछ भने क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा मत गनिनेछ । क्षेत्र नं ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पोखरा–५, मालेपाटनमा मतगणना हुनेछ । मतगणना स्थललाई तारजाली लगाएर व्यवस्थित बनाइएको छ भने सिसिटिभीमार्फत निगरानी गरिने मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जानकारी दिनुभयो ।
कास्की क्षेत्र नम्बर दुईमा पोखरा महानगरका ११ वटा वडा पर्छन् । यो क्षेत्रबाट चाँडै मतपेटिका सङ्कलन हुने भएकाले मतगणना कास्की २ बाट सुरु हुनेछ । कास्की क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ का केही क्षेत्रबाट मतपेटिका आइपुग्न समय लाग्ने भएकाले राति अबेरबाट गणना थाल्ने मुख्य निर्वाचन अधिकृत बेल्बासेले बताउनुभयो ।
साँझ ९ बजेसम्म जिल्लाका तीनै क्षेत्रका मतपेटिका सङ्कलन भइसक्ने र राति ११ बजेतिरबाट गणना थालिने उनको भनाइ छ । “क्षेत्र नम्बर २ को अलि चाँडै सुरु होला,” उहाँले भन्नुभयो, “अरु क्षेत्रको मतपेटिका सङ्कलन भएपछि आजै राति ११÷१२ बजेबाट गणना थाल्छौँ ।”
गणना सुरु भएको २४ घन्टाभित्र परिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृत बेल्बासेले भन्नुभयो, “हामीसँग जनशक्तिको कमी छैन । राजनीतिक दलहरुले विश्वास गर्नुभयो, सहज अवस्था सिर्जना गर्नुभयो भने २४ घन्टाभित्रै परिणाम सार्वजनिक गर्न सकिन्छ ।”