अनिल पराजुली
हेटौँडा, फागुन २१ गते । कारागार कार्यालय भिमफेदी मकवानपुरका १४३ जना कैदीबन्दीले मतदान गरेका छन् ।
बिहीवार साँझ पाँच बजेसम्म १३९ पुरुष र चार महिला कैदीबन्दीले भिमफेदी कारागार मतदान स्थलमा मतदान गरेको मतदान अधिकृत विष्णु पौडेलले जानकारी दिनुभयो ।
सोही मतदान केन्द्रमा छ जना कर्मचारीले पनि मतदान गर्नुभएको छ । मतदान अधिकृत पौडेलका अनुसार कैदीबन्दी र कर्मचारी सहित सो केन्द्रमा १४९ जनाले मतदान गर्नुभएको हो ।
मतदाता नामावलीमा १६६ जनाको नाम उल्लेख भएपनि विविध कारणले सबैजना मतदानमा सहभागि हुन नसकेको उहाँले बताउनुभयो ।
उहाँहरूले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनुहुन्छ । मकवानपुरमा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र रहेको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुर र कारागार कार्यालय भिमफेदीमा अस्थायी मतदान केन्द्र निर्माण गरिएको थियो ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा तीन लाख १५ हजार ३३४ जना मतदाता छन् ।