अमरराज नहर्की
तनहुँ, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँका दुई अस्थायी मतदान केन्द्रमा आज समानुपातिकतर्फको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । सुरक्षाकर्मी, कर्मचारी र कैदीबन्दीहरूका लागि लक्षित गरी कृषि विकास कार्यालय र तनहुँ कारागारमा यी केन्द्रहरू तोकिएका थिए ।
तनहुँ कारागारस्थित अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मतदान भएको छ । त्यहाँ रहेका कुल ४६ जना मतदाताले नै आफ्नो मताधिकार प्रयोग गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी, कृषि विकास कार्यालय तनहुँमा रहेको अर्को अस्थायी केन्द्रमा ५४ जनाले मतदान गरेका छन् । सो केन्द्रका मतदान अधिकृत कृष्णप्रसाद गौतमका अनुसार मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरूले आ–आफ्नो कार्यक्षेत्रमा खटिएकै स्थानबाट मत खसाल्ने व्यवस्था मिलाइएको थियो ।
कर्मचारी र सुरक्षाकर्मीले सम्बन्धित कार्यक्षेत्रमै मत खसालेकोले गर्दा कम मत खसेको गौतमले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार तनहुँमा समानुपातिकतर्फ कुल १ हजार ८६९ जना मतदाता रहेका छन्। यी मतदाताहरूका लागि दुईवटा अस्थायी केन्द्रको व्यवस्थापन मिलाइएको थियो । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले अस्थायी केन्द्रहरूमा भएको मतदान प्रक्रिया पारदर्शी र त्रुटिरहित ढङ्गले सम्पन्न भएको बताउनुभयो ।