• २१ फागुन २०८२, बिहिबार

कास्कीमा एक सय ८५ सवारी नियन्त्रणमा

blog

कास्की प्रहरीले बिहीबार नियन्त्रणमा लिएका केही मोटरसाइकलहरु । तस्बिरः गोरखापत्र

लेखनाथ समाचारदाता

लेखनाथ, फागुन २१ गते । कास्कीमा निर्वाचनका दिन बिना पास सञ्चालनमा रहेका सवारीसाधनहरुलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको छ । बिहीबार बिहानदेखि दिउँसो ४ बजेसम्म एक सय ८५ सवारी साधन नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

बिना पास हिँडेका एक सय ७८ दुईपाङ्ग्रे र सात चार पाङ्ग्रे सवारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। 

निर्वाचन आयोगले बुधबार राति १२ बजेदेखि बिहीबार दिउँसो ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ । मतदानको दिनलाई व्यवस्थित र मर्यादित बनाउन सवारी साधनको आवागमन र नियमनसम्बन्धी विशेष कार्यविधिसमेत आयोगले कार्यान्वयनमा ल्याएको छ। 

मानवीय र प्राविधिक संवेदनशीलता हुने एम्बुलेन्स, शव वाहन, दमकल र अस्पतालका सवारी साधनले पास लिनुनपर्ने व्यवस्था गरिएको छ । खानेपानीका ट्याङ्कर, दूध ढुवानी गर्ने सवारी साधन, विद्युत् सेवा, दूरसञ्चार र सूचना सञ्चारसँग सम्बन्धित साधनहरू पनि पास बिना नै सञ्चालनमा छन् ।