काठमाडौं, साउन ४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेनुका गुरुङले सैनिक विशेष अदालतलाई सेनाको मुख्यालय परिसरभन्दा बाहिर सार्न माग गर्नुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद गुरुङले सैनिक विशेष अदालतमा विगतदेखिकै धेरै मुद्दाहरु पेन्डिङमा रहेकाले सेनामा न्यायप्रति विश्वास घटेको बताउनुभयो ।
उहाँले सैनिक विशेष अदालतको बेथिति र ढिलासुस्तीमाथि अनुगमन गर्न सरकारसमक्ष माग गर्नुभयो । साथै, सांसद गुरुङले सैनिक विशेष अदालत सेनाको मुख्यालयभित्र रहुन्जेल पीडित सैनिकले न्याय नपाउने भन्दै यसलाई मुख्यालय परिसरबाट बाहिर सार्न माग गर्नुभएको हो ।
यसैगरी, नेकपा(माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रतिपक्ष दल नेकपा(एमाले)को अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीको खोजी हुनुपर्ने बताउनुभयो ।
एमाले आफ्नो महत्त्वपूर्ण विभागको मान्छे हराएको खोज्न छोडेर सिसी क्यामेरा खोज्दै हिँडेको टिप्पणी गर्नुभयो । उहाँले एम अधिकारीको खोजी सरकार र प्रतिपक्षले नगरेकाले अधिकारी थर हुनेहरुले नै खोजी थाल्नुपर्ने व्यङ्ग्य गर्नुभयो ।
त्यस्तै, नेकपा(एकीकृत समाजवादी)की सांसद सरलाकुमारी यादवले नेपाली विद्यार्थीहरु प्राविधिक शिक्षा पढ्न विदेशिएका कारण सञ्चित विदेशी मुद्रा बाहिरिएको बताउनुभयो । चिकित्सा शिक्षा ऐन चालु संसदबाट संशोधन गरी विद्यार्थीहरुलाई नेपालमै पढ्ने अवसर उपलब्ध पर्ने उहाँको भनाइ छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिलकुमार झाले पानी नपरेका कारण तराईको खेतीयोग्य भूमिको आधा स्थानमा धान रोपाइँ हुन नसकेको जानकारी दिनुभयो । उहाँले मल, बीउको समस्या रहेको चर्चा गर्दै तराई मधेशका किसानहरुले भोगेका समस्याबाट छुटकारा दिलाउन राहत घोषणा गर्न सरकारसमक्ष माग गर्नुभयो ।
सांसद झाले तराईका किसानहरु धान रोपाइँ गर्न नपाएर पीडित बनेको भन्दै यसतर्फ कृषिमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।