यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), फागुन २१ गते । प्रतिनिधिसभा निर्वाचनको क्रममा बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मतदान भएको छ । दिउँसो २ बजेसम्म कुल मतदातामध्ये बर्दियामा ४३ प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताउनुभयो ।
बर्दियामा पुरुष एक लाख ५९ हजार तीन सय ८७, महिला एक लाख ६३ हजार आठ सय ७३ र अन्य ६ जना गरी तीन लाख २३ हजार दुई सय ६६ जना मतदाता रहेका छन् ।
बर्दियाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा पुरुष ८३ हजार आठ सय तीन, महिला ८४ हजार दुईसय २७ र अन्य चार जना गरी एक लाख ६८ हजार ३४ जना मतदाता रहेका छन् । क्षेत्र नं २ मा ७५ हजार पाँच सय ८४ पुरुष, ७९ हजार ६ सय ४६ महिला, र दुई जना अन्य गरी एक लाख ५५ हजार दुई सय ३२ जना मतदाता रहेका छन् ।
बर्दिया जिल्लाभरी एक सय ५४ वटा मतदान स्थलमा तीन सय ८७ वटा मतदान केन्द्र रहेका छन् भने जिल्लाभरी दुई स्थानमा अस्थायी मतदान केन्द्र रहेका छन् । बर्दियामा हालसम्म शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा मतदान भएको छ ।
निर्वाचनलाई मध्येनजर गर्दै बर्दिया जिल्लामा सुरक्षा व्यवस्था कडा र चुस्त दुरुस्त बनाइएको छ । जिल्लाभरी नै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी खटाइएको छ । नेपाली सेनाको लगातार गस्ती गराइएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।
सुरक्षाका दृष्टिकोण संवेदनशील मतदान स्थलमा विषेश निगरानी बढाइएको उहाँले बताउनुभयो । मतगणना पश्चात् मतपेटिका सङ्कलनका लागि सुरक्षाको तयारी भइसकेको उहाँले बताउनुभयो ।
मतदान पश्चात मतपेटिका सङ्कलन गरिसकेपछि सर्वदलीय सहमति भएमा आज राति देखि नै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताउनुभयो । मतगणनाका लागि दुवै निर्वाचन क्षेत्रको मतगणना स्थलमा सिसी क्यामेरा तारजाली र लाइटको व्यवस्था मिलाइएको छ ।