सन्तोष दहित
दाङ, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ जिल्लाका मतदान केन्द्रहरूमा दिउँसोसम्म करिब २८.७२ प्रतिशत मतदान भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा रहेका तीनवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मतदान जारी रहेको छ। हालसम्म ४ लाख ३३ हजार ६६८ मतदातामध्ये १ लाख २४ हजार ९०१ मत खसेको जनाइएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो। उहाँको अनुसार क्षेत्र नम्बर १ मा कुल १ लाख ४० हजार ००१ मतदातामध्ये ४२ हजार ७१५ मत खसेको छ, जुन ३०.५१ प्रतिशत हो।
त्यस्तै क्षेत्र नम्बर २ मा १ लाख ४० हजार ९६६ मतदातामध्ये ४० हजार ७३८ मत खसेको छ, जसले २८.८९ प्रतिशत मतदान भएको देखाउँछ। क्षेत्र नम्बर ३ मा १ लाख ५० हजार ७०१ मतदातामध्ये ४० हजार ४८५ मत खसेको छ, जुन २६.९० प्रतिशत हो। जिल्लाभरका मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको कार्यालयले जनाएको छ ।