सिराज खान
नेपालगन्ज, फागुन २१ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले दिएको जानकारी अनुसार बिहानैदेखि सुरु भएको मतदान कार्य उत्साहजनक रूपमा शान्तिपूर्ण तरिकाले चलिरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता एवं सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीले बाँके जिल्लामा दिउँसो १२ बजेसम्म करिब २५ प्रतिशत मतदान भएको जानकारी दिनुभयो ।
उहाँले बिहानैदेखि मतदान केन्द्रहरूमा मतदाताको भिड लागेको बताउनुभयो । मतदान गर्न आउनेहरूमा महिलाहरूको सङ्ख्या उल्लेखनीय रूपमा देखिएको पनि प्रवक्ता कार्कीले बताउनुभयो । अहिले जिल्लाभरि मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा भइरहेको छ ।
मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उल्लेखनीय उपस्थिति देखिएको छ । युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा निकाय तथा निर्वाचनकर्मीहरू सक्रिय रूपमा खटिएका छन् । हालसम्म कुनै अप्रिय घटना नभएको र मतदान प्रक्रिया सहज रूपमा अगाडि बढिरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
स्थानीय मतदाताहरूले आफ्नो प्रतिनिधि छान्ने अवसरलाई उत्सवका रूपमा लिँदै उत्साहपूर्वक मतदान गरिरहेको उनीहरूले बताएका छन् । नेपालगन्ज–२ मा भेटिएका मतदाता हारुन अलीले यो ५ वर्षमा आउने अवसरलाई सही सदुपयोग गर्न मतदान गर्न आएको बताउनुभयो ।