कविराज घिमिरे
हिले, फागुन २१ गते । धनकुटामा १२ बजेसम्ममा १४ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारी अनुसार १२ बजेसम्म १६ हजार ५ सय ५२ मत खसेको छ ।
जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । यो कुल मतदाता सङ्ख्याको १४ प्रतिशत हो । अघिल्ला निर्वाचनको तुलनामा अहिलेसम्म कम मत खसेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
अघिल्ला निर्वाचनहरूमा १२ बजेसम्ममा ३० प्रतिशतभन्दा बढी मत झर्ने गरेकोमा यो निर्वाचनमा कम खसेको उहाँको भनाइ छ । जिल्लाका एक सय १९ मतदान स्थलका १६६ केन्द्रमा बिहान सात बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । मतदान केन्द्रमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी खटिएका छन् । सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो ।