• २१ फागुन २०८२, बिहिबार

बैतडीमा ११ः३० बजेसम्म २२ हजार ६३६ मत खस्यो

blog

बैतडीमा मतदान गर्न लाइनमा बसेका मतदाता । तस्बिर : केशवराज भट्ट

केशवराज भट्ट 
वाशुलिङ बैतडी, फागुन २१ गते ।
बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान सुरु भई जारी रहेको छ । जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान कार्य प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो ।

जिल्लामा एक अस्थायी सहित कुल दुई सय १५ मतदान केन्द्र रहेका छन् । सबै केन्द्रमा मतदान प्रक्रिया सुचारु रहेको र हालसम्म कुनै अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहान ११ः३० बजेसम्म २२ हजार ६३६ मत खसेको छ । जसमध्ये ११ हजार १८८ पुरुष, ११ हजार ४४७ महिला तथा १ अन्य मतदाता रहेका छन् ।

प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यहाँ एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाभर उच्च सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । सुरक्षाको प्रभावकारी व्यवस्था मिलाइएकाले निर्धक्क भएर मतदान गर्न आम मतदातालाई उहाँले आग्रह गर्नुभएको छ ।

यसैगरी, सबै मतदान केन्द्रमा मतदाताको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा महिलालाई सहज रूपमा मतदान गर्न विशेष व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

निर्धारित कार्यतालिका अनुसार साँझ ५ बजेसम्म मतदान सञ्चालन हुने भएकाले सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न जिल्ला निर्वाचन कार्यालयले सबै मतदातासँग अनुरोध गरेको छ ।