• १४ असार २०८१, शुक्रबार

प्रतिनिधिसभा शून्य समय : सवारी दुर्घटनाबारे सरकारको ध्यानाकर्षण

blog

काठमाडौं, साउन ४ गते । प्रतिनिधिसभा सांसद डा. डीला संग्रौला (पन्त)ले वर्षायाममा हुने सवारी दुर्घटना कम हुने गरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसद पन्तले वर्षायामको शुरुवातदेखि दशैँ, तिहारसम्ममा धेरै सवारी दुर्घटना हुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सम्बन्धित निकायले दुर्घटना कम हुने गरी काम गर्न निर्देशन जारी गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभयो ।

यसैगरी, प्रतिनिधिसभा सांसद दिल कुमारीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदबाट राजीनामा दिएर नेकपा(एमाले)को सङ्गठन बनाउन लाग्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा सांसद दिव्यमणि राजभण्डारीले पेट्रोलियम पदार्थ र सवारी चालकको खर्च कटौती गरी सार्वजनिक यातायात प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बजारका नाफाखोरहरुलाई सरकारले नियन्त्रण लिनु आवश्यक रहेको बताउनुभयो ।

प्रतिनिधिसभाका अर्का सांसद दीपकप्रकाश भट्टले गेटामा प्रस्तावित मेडिकल कलेज वा प्रतिष्ठानको कुरा नगरी सो पूर्वाधारमा राष्ट्रिय चिकित्सा विश्वविद्यालय स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै, सांसद पवित्रा निरौला (खरेल)ले दुर्गममा रहेका बिरामीहरुलाई उपचारका लागि सोही ठाउँमा आइसीयू र भेन्टिलेटर सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पार्वतीकुमारी विसुन्केले न्यायलयको न्याय सम्पादन गर्ने शैली पुरानो भएकाले न्यायमा जनताको पहुचँ पुग्न नसकेको बताउनुभयो । उहाँले उच्च स्तरीय न्यायिक सुधार आयोग गठन गर्न माग गर्नुभयो ।

सांसद प्रकाश रसाइली स्नेहीले समाजमा पछि पारिएका समुदायलाई समयमै न्याय दिलाउनका लागि तत्काल उच्चस्तरिय न्यायिक सुधार आयोग गठन गर्नुपर्ने बताउनुभयो ।

शून्य समयमा बोल्ने अन्य सांसदले समसामयिक विषय र आ–आफ्नो क्षेत्रमा देखापरेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।