अनिल पराजुली
हेटौँडा, फागुन २१ गते ।प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरमा आज बिहान ११ बजेसम्म २० प्रतिशत मत खसेको छ।
चार घण्टाको अवधिमा दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा २० प्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा मतदाताको उत्साहजनक सहभागिता रहेको छ । मतदान अपराह्न ५ः०० बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ ।
१०२ वडा रहेको मकवानपुरमा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र रहेको छ भने तीन लाख १५ हजार ३३४ जना मतदाता छन् ।४० वडा रहेको निर्वाचन क्षेत्र नं. १ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्र रहेको छ । यहाँबाट एकलाख ५८ हजार ४३५ जना मतदाता छन् ।
त्यस्तै ६२ वडा रहेको निर्वाचन क्षेत्र नं २ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्र रहेको छ । यहाँ एकलाख ५६ हजार ८९९ मतदाता छन् ।जिल्ला प्रशासन कार्यालय र भिमफेदी कारागारलाई अस्थायी मतदान केन्द्र तोकिएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ जना उम्मेद्वार प्रतिष्पर्धामा हुनुहुन्छ । निर्वाचन क्षेत्र नं.१ मा दलका १३ जना र स्वतन्त्र १० सहित २३ जना र निर्वाचन क्षेत्र नं. २ मा दलका १६ जना र स्वतन्त्र पाँच जना सहित २१ जना उम्मेदवार हुनुहुन्छ ।