भरतपुर- हेटौँडा-बनेपा समाचारदाता
चितवन, फागुन २१ गते । प्रतिनिधि सभा निर्वाचनका लागि बागमती प्रदेशका विभिन्न निवार्चन क्षेत्रमा मतदान अधिकृतदेखि स्वयंसेवकसम्म महिलालाई खटाइएको छ ।
चितवनको भरतपुर उपमहानगरपालिका–१०, भरतपुर मावि मतदान स्थललाई जिल्लाकै नमुना मतदान स्थल बनाइएको छ । निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यो मतदान स्थलमा चार वटा केन्द्र छन् । चार जना मतदान अधिकृतसहित उक्त मतदान स्थलको निर्वाचनमा खटिएका सबै महिला कर्मचारी छन् ।
मतदान अधिकृत सुशीला वाग्लेका अनुसार उक्त मतदान स्थलका चार वटा केन्द्रमा २४ कर्मचारी र २७ जना सुरक्षाकर्मी छन् । मतदान स्थलमा १२ जना स्वयंसेवक पनि महिला नै राखिएकोे उहाँले बताउनुभयो । २०७९ सालको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा पनि यो मतदान स्थान महिलाले सञ्चालन गरेका थिए । उक्त मतदान स्थलकी अर्की मतदान अधिकृत विष्णुमाया विकेका अनुसार मतदान स्थलमा क, ख, ग र घ गरी चार वटा केन्द्र छन् । तीन हजार ७२८ जना मतदाता रहेको सो मतदान केन्द्रमा सुशीला वाग्ले, विष्णुमाया विके, विन्दु पौडेल र विन्दु देवकोटा गरी चार जना मतदान अधिकृत तोकिएको छ ।
तीन वटा निर्वाचन क्षेत्र रहेको चितवन जिल्लामा १६२ मतदान स्थल र ४९४ मतदान केन्द्र रहेका छन् । जिल्लाभर दुई हजार ९६४ कर्मचारी परिचालन गरिएको छ । अहिलको प्रतिनिधि सभा निर्वाचनमा ३३ हजार ७४० नयाँ मतदाता थपिएर कुल मतदाताको सङ्ख्या चार लाख ४२ हजार ८२ जना पुगेको छ ।
छ वटा मतदान केन्द्र महिलाको नेतृत्वमा
हेटौँडा समाचारदाताका अनुसार हेटौँडा उपमहानगरपालिका–२, सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी महिला खटाइएको छ ।
सिद्धार्थ माविमा रहेको मतदान स्थलमा ‘क’ देखि ‘च’ सम्म छ वटा मतदान केन्द्र छन् । ती सबै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र स्वयंसेवक पनि महिला नै राखिएका छन् । यी मतदान स्थलमा खटिने सुरक्षाकर्मी पनि महिला छन् ।
‘क’ मतदान केन्द्रमा विष्णुकुमारी लामिछाने,
‘ख’ मतदान केन्द्रमा शारदा मैनाली, ‘ग’ मतदान केन्द्रमा सत्यदेवी अधिकारी, ‘घ’ मतदान केन्द्रमा सिर्जना गुरुङ, ‘ङ’ मतदान केन्द्रमा करुण रिसाल र ‘च’ मतदान केन्द्रमा मनीषा ज्ञवाली मतदान अधिकृतको जिम्मेवारीमा खटिनुभएको छ । छ मतदान केन्द्रमा ३६ महिला कर्मचारी र २० महिला सुरक्षाकर्मी परिचालन भएका छन् । सो मतदान स्थलमा दुई हजार ८१५ महिला, दुई हजार ६७६ पुरुष र अन्य दुई जनासहित पाँच हजार ४९३ मतदाता रहेको ‘क’ मतदान केन्द्रकी मतदान अधिकृत विष्णुकुमारी लामिछानेले जानकारी दिनुभयो ।
निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उहाँले मतदान स्थल निर्माणलगायतका सबै तयारी पूरा गरेको बताउनुभयो ।
“महिला कर्मचारी मात्रै हुनु चुनौती र अवसर दुवै हो, हामीले पाएको जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्छौं, यो हाम्रा लागि अवसर पनि हो,” उहाँले भन्नुभयो । मकवानपुरका १६७ मतदान स्थलमा निर्वाचन गराउन दुई हजार २४४ कर्मचारी खटिएका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा एउटा मतदान केन्द्रमा कम्तीमा छ जना र बढीमा आठ जना कर्मचारी खटिएका छन् । मतदाता सङ्ख्याका आधार कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो । मकवानपुर–१ मा ६२ मतदान स्थलमा १७८ वटा मतदान केन्द्र छन् । ती मतदान केन्द्रमा एक हजार ६८ कर्मचारी खटाइएको छ । क्षेत्र २ का १०५ मतदान स्थलमा १९६ मतदान केन्द्र छन् । ती केन्द्रमा एक हजार १७६ कर्मचारी खटाइएको छ । मकवानपुरका दुई वटा निर्वाचन क्षेत्रमा १६७ वटा मतदान स्थलमा ३७४ वटा मतदान केन्द्र छन् ।
तीन मतदान केन्द्रमा महिला कर्मचारी
बनेपा समाचारदाताका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा रहेका तीन वटा मतदान केन्द्रको निर्वाचन गर्ने जिम्मेवारी महिला कर्मचारीलाई परेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाको तीन वटा मतदान केन्द्रमा सबै महिला कर्मचारी खटिने छन् भने एउटा मतदान केन्द्रमा सहयोगी कर्मचारीबाहेक सबै महिला कर्मचारी छन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ का अनुसार धुलिखेल नगरपालिका–१० स्थित कालिका मावि शारदा बतासे ‘ख’ मतदान केन्द्रमा सबै कर्मचारी महिला छन् । क्षेत्र नम्बर १ अन्तर्गत नै धुलिखेल नगरपालिका–९ स्थित करथरी मावि ‘ख’ केन्द्रमा भने सहयोगी कर्मचारीबाहेक अरू कर्मचारी महिला मात्रै छन् । यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत सञ्जीवनी मावि अड्डाबजार ‘क’ मतदान केन्द्रमा सबै खटिने कर्मचारी महिला मात्रै रहेको जनाएको छ । यसै गरी सञ्जीवनी माविकै अड्डाबजार ‘ख’ मतदान केन्द्रमा पनि महिला कर्मचारी मात्रै खटाइएको छ ।