• २१ फागुन २०८२, बिहिबार

काभ्रेपलान्चोकमा निर्वाचन शान्तिपूर्ण रूपमा सुरु

blog

काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–११ स्थित वडा कार्यालयमा मतदानका लागि उपस्थित मतदाताहरू। तस्बिर : केदार तिमल्सिना

 केदार तिमल्सिना
बनेपा, फागुन २१ गते ।
काभ्रेपलान्चोक जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जिल्लाका दुई निर्वाचन क्षेत्रको ४०० मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जानकारी दिनुभयो।

उहाँका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ र मतदाताहरू उत्साहपूर्वक सहभागी भएका छन्।

जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन्। क्षेत्र नं. १ मा ९५ मतदान स्थलमा १९८ मतदान केन्द्र रहेका छन् भने क्षेत्र नं. २ मा ९४ मतदान स्थलमा २०२ मतदान केन्द्र सञ्चालनमा छन्। क्षेत्र नं. १ मा १८ जना उम्मेदवार र क्षेत्र नं.२ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई सहयोग गर्दै आफ्नो स्वतन्त्र पार्टी प्रवेश गराएका छन्।

मतदाताको विवरण अनुसार, क्षेत्र नं. १ मा ८३ हजार ७७३ पुरुष र ७७ हजार ३२६ महिला गरी कुल १ लाख ६१ हजार ९९९ मतदाता रहेका छन्। क्षेत्र नं. २ मा ८३ हजार ७२६ पुरुष र ८१ हजार ७८४ महिला गरी १ लाख ६५ हजार ५१० मतदाता छन्। यसरी जिल्लामा कुल ३ लाख २६ हजार ६११ मतदाता मतदान गर्ने छन्।