• २९ चैत २०८२, आइतबार

कोशी मेलाबाट हराएका बालक दुई महिनापछि फेला

blog

तस्बिर साैजन्य : सप्तरी प्रहरी ।

विनय कर्ण

कल्याणपुर (सप्तरी), चैत २९ गते । कोशी मेलाबाट हराएका एक बालकलाई सप्तरी प्रहरीले दुई महिनापछि फेला पारी परिवारको जिम्मा लगाएको छ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा ६ बभनगामा टोल बस्ने जय कृष्ण यादवका १४ वर्षीय छोरा अमन कुमार यादवलाई प्रहरीले फेला पारी परिवारको जिम्मा लगाएको हो ।

कोशी मेलाबाट हराउनुभएका अमनलाई खोजतलास गरिदिन माग गर्दै उहाँका बुवाले माघ २२ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलिया सहितको निवेदन दिनुभएको थियो । सोही निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी इकाइबाट खोजी कार्य जारी राखिएको थियो । 

यसै क्रममा हनुमाननगर कंकालिनी नगरपालिका वडा ९ स्थित हनुमाननगर बजारबाट इलाका प्रहरी कार्यालय हनुमाननगरको टोलीले उहाँलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक अनिल कुमार साहले जानकारी दिनुभयो ।

फेला परेका अमनलाई प्रहरी चौकीको-वर्साइनमा ल्याई आवश्यक प्रक्रिया पूरा गरी सोही दिन राति उहाँका बुवा जय कृष्ण यादव लगायत आफन्तजनको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।