• २९ चैत २०८२, आइतबार

मुल्मीको एकल चित्रकला प्रदर्शनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २९ गते ।  अग्रज कलाकार प्राध्यापक राधेश्याम मुल्मीको तेस्रो एकल चित्रकला प्रदर्शनी ‘प्रतिविम्ब’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल व्यावसायिक कलाकार सङ्घको संयुक्त आयोजनामा शनिबार सुरु भएको उक्त प्रदर्शनीको वरिष्ठ कलाकार क्रोधकला शिरोमणि कालु कुमाले, हरिप्रसाद शर्मा, शशि शाह, कृष्णगोपाल रञ्जितलगायतले उद्घाटन गर्नुभयो ।

कलाकार शशि शाहले भन्नुभयो, “कलाकार मुल्मीका चित्रकला आफैँ बोल्छन्, ती चित्रका बयान गर्नु भनेको त्यसको महत्व घटाउनु हो, यस्ता चित्रकला देख्न दुर्लभ छ, धेरै राम्रा चित्रकला छन् ।” नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफ्ना गुरु प्राध्यापक राधेश्याम मुल्मीका चित्रकलाको प्रदर्शनी आयोजना गर्न पाउँदा गौरव लागेको बताउनुभयो । 

नेपाल व्यावसायिक कलाकार सङ्घका अध्यक्ष प्रेमलाल श्रेष्ठले कलाकार राधेश्याम मुल्मीका चित्रकलाले नेपाली परिवेशसहितको दैनिक जनजीवन, संस्कृति र अध्यात्मको पाटोको उजागर गर्ने बताउनुभयो । सो अवसरमा कलाकार/प्रा. मुल्मीका कला साधना झल्काउने वृत्तचित्र प्रदर्शनी गरिएको थियो । साहित्यकार एवं पत्रकार जीवनाथ धमलाको निर्माण र शिव पङ्गेनीको छायाङ्कनमा बनेको सो वृत्तचित्रमा कलाकार मुल्मीको बाल्यकाल, अध्ययन, अध्यापन र हालसम्म जारी कलायात्रालाई देखाइएको थियो । 

पत्रकार जीवनाथ धमलाले अध्ययन, अध्यापन र सिर्जनामा सिङ्गै जीवन समर्पण गर्नुभएको, समाजमा विशेष योगदान दिनुहुने कलाकार मुल्मीको जीवनयात्रा एउटा वृत्तचित्रमा अटाउन सकिने विषय नभए पनि सक्दो प्रयास गरिएको विचार व्यक्त गर्नुभयो । कलाकार मुल्मी आफू ७७ वर्षको यात्रामा पनि दैनिक सक्रिय जीवनयापनसहित कला क्षेत्रमा संलग्न रहँदै हजारौँ कलाका विद्यार्थीलाई आफूले जानेको सिप सिकाएर बाटो देखाउने काममा अनवरत लागिरहनुभएको छ । उहाँले आफूलाई यस काममा निरन्तर लाग्न प्रेरित गर्ने अग्रज, सहपाठी र घरपरिवारका सदस्यलाई धन्यवाद व्यक्त गर्नुभयो । 

सो अवसरमा ‘प्रतिविम्ब’ क्याटलगको लोकार्पण पनि गरिएको थियो । एक्रेलिक माध्यमबाट बनाइएका गणेश, राष्ट्रिय झन्डा, वसन्त मिलन, गीतमा सारङ्गीका सुरलहर, आमाको प्रेम, सङ्गीतमय माहोल, सद्भावलगायतका शीर्षकमा भिन्न र गहिरा अर्थ दिने प्रतिविम्ब झल्कने २५ वटा चित्रकला प्रदर्शनीमा राखिएका छन् ।